April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

अज्ञात समूहद्वारा प्रदेशसभा समिति सभापतिको गाडीमा आगजनी

काठमाडौं, १७ पुस । अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी जलाइदिएका छन् ।

Advertisement

समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा जलाइएको हो । सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अपरिचित समूहले जलाएको प्रहरीले जनाएको छ।

गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले बताएको छ । गाडीमा आगो लगाउनेको खोजी भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेतासमेत रहेका सभापति सिंहलगायत नेता कार्यकर्ताले भेरी नगरपालिका ७, स्याउलीमा शुक्रबार हुने पार्टी कार्यक्रममा जान उक्त गाडी प्रयोग गरेका थिय ।

पार्टीको आमसभा, संगठनलगायत कार्यक्रममा सभापति सिंहले सरकारी गाडी प्रयोग गरेको झोकमा आगलागी गरिएको आशंका प्रहरीले गरेको छ । यसअघि सभापति सिंहको उक्त गाडी सुर्खेतमा घाँस बोक्न प्रयोग भएको भनेर आलोचना भएको थियो । अहिलेसम्म कसैले आगलागीको जिम्मेवारी लिएका छैनन् ।