April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको छ : मन्त्री खड्का

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताउनुभएको छ । आज कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताउनुभयो ।

Advertisement

“प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,” उहाँले भन्नुभयो, “नाकामा परीक्षण व्यस्थित ढङ्गले भइरहेको छ ।”

उहाँले गम्भीर खालका सङ्क्रमितलाई सेती र महाकाली प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा राखेर उपचारको प्रबन्ध मिलाइएको बताउनुभयो । “ सङ्क्रमित र सामान्य लक्षण भएकालाई होल्डिङ सेन्टरमा राखिनेछ,” उहाँले भन्नुभयो, “भारत आवतजावत गर्न यो नाका सहज भएकाले देशभरिका नागरिकले प्रयोग गर्दा स्वाभाविक रुपले जोखिम र सङ्क्रमण बढी देखिएको हो ।”

मन्त्रीसहितको टोलीले यहाँको भगतपुरमा निर्माण भइरहेको होल्डिङ सेन्टर र महाकाली प्रादेशिक अस्पतालको समेत स्थलगत अनुगमन गरेको छ । होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९० प्रतिशत काम सकिएको दाबी गर्नुभयो ।

एक हजार शय्याको होल्डिङ सेन्टरमा तीन सय शय्या तयारी अवस्थामा राखिसकिएको उहाँले बताउनुभयो । यद्यपि होल्डिङ सेन्टर कसले सञ्चालनमा ल्याउने भन्ने विषय टुङ्गो लागिसकेको छैन । होल्डिङ सेन्टरमा सडक ग्राभेल, बिजुलीलगायत संरचना निर्माणका लागि ध्यान नपुगेको सापकोटाको भनाइ छ ।

पछिल्लो साता गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ । आइतबार मात्रै यहाँ दुई भारतीयसहित १६ जनामा नाकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।