May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

बागमती प्रदेश- राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका पौडेल र तिमल्सिना निर्वाचित

बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ ।

Advertisement

बागमतीको रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै पौडेल र तिमल्सिना निर्वाचित हुनुभएको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ । तिमल्सिना र पौडेल क्रमशः ४६३ र ४५० मतभारले विजयी हुनुभएको हो ।

महिला सदस्यमा तिमल्सिनाले चार हजार ८२४ मतभार प्राप्त गर्नुभएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएकी उम्मेदवार निरुकुमारी कुँवरले चार हजार ३६२ मतभार र नेमकिपाको महिला उम्मेदवार गीता काफ्लले १३२ मतभार प्राप्त गर्नुभयो ।

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेलले चार हजार ७९४ मतभार प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका गोपाल शाक्यले चार हजार ३४४ मतभार प्राप्त गर्नुभयो भने नेमकिपाको तर्फबाट उम्मेदवार बन्नुभएका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभाका कूल १०९ जना मध्ये १०६ जना मात्रै मतदान प्रक्रियामा सहभागी हुनुभएको थियो । विवेकशील दलको तीन जना प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुनुभएको थिएन । निर्वाचनमा बागमती प्रदेशका १०९ सदस्य र ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनुभएको थियो ।