May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

भक्तपुरमा चोकचोकमा माटाका भाँडा फुटाइयो

पौष शुक्ल पूर्णिमा अर्थात् मिला पुन्हीको दिन आज चाँगुनारायण मन्दिरबाट सुरु भएको कलश जात्रा गरी हनुमानढोका दरबारमा भित्र्याइएको छ । पौष शुक्ल पूर्णिमाको दिन र साउन शुक्ल द्वादशीको दिन मनाइने चाँगुनारायणको कलश जात्रा अर्थात ‘क्वातिद्य ः जात्रा’ आज मनाइएको हो ।

Advertisement

चाँगुनारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा चाँदीको कलश जात्रा चाँगुनारायणबाट सुरु भएको थियो । चाँगुनारायणबाट लगिएको कलश जात्रालाई रानीपोखरी पुगेपछि राजप्रतिनिधिका रूपमा खड्गसहित गुर्जुको पल्टनले स्वागत गर्ने परम्परा रहेको छ ।

कलश जात्रा लैजाँदा दोबाटोमा पुराना माटाका भाँडाकुँडा फुटाउने परम्परा रहेको छ । यसो गर्दा अपसगुन हुने र शहरबाट चाँगुनारायण देवता नफर्किउन् भनेर भाँडा फुटाउने परम्परा रहेको भनाइ छ । कलश जात्रालाई हनुमानढोका पु¥याएपछि कुमारीलाई पनि ल्याएर मूलचोकमा राखी पूजा गर्ने प्रचलन रहँदै आएको चाँगुनारायण–४ चाँगुका वडाध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार परापूर्वकालमा कान्तिपुरका एक राजा दिनदिनै चाँगुनारायणको दर्शन गरेर मात्र भोजन गर्ने गर्थे तर एकदिन मनोहरा नदीमा ठूलो बाढी आएपछि नदी तर्न नसक्दा चाँगुनारायणको दर्शन गर्न पाएनन् र भोकै बसे । अर्को दिन पनि नदी तर्न नसकेर भोकै बसेर राजाले नारायणको ध्यान गरिरहे ।

आफ्नो भक्तले दुःख पाएको देखेर नारायणले सपनामा राजालाई तिम्रो भक्तिदेखि म साह्रै खुसी भएँ अबदेखि दिनदिनै दुःख गरेर मेरो दर्शन गर्न आउनुपर्दैन, वर्षको दुईपटक श्रावण शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमाको दिनमा म आफैँ हनुमानढोका दरबारमा आएर तिमीलाई दर्शन दिन्छु भनेपछि त्यही समयदेखि चाँगुनारायणबाट हनुमानढोकासम्म कलश जात्रा सुरु भएको किम्बदन्ती रहेको वडाध्यक्ष महर्जनले बताउनुभयो ।

भक्तपुरका विभिन्न चोकचोक तथा फोहर फाल्ने दोबाटोमा माटाका पुराना भाँडा फुटाएर छ्याला पुन्ही मनाइएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिन नेपाल भाषामा छ्याला पुन्ही भनिने यो पर्वमा स्थानीयवासीले घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटाका भाँडा नजिकको चोकमा फुटाउने प्रचलन रहँदै आएको छ ।

नेवार समुदायमा दसैँमा माटोको भाँडा भित्र्याउने परम्परा रहेको र छ्याला पुन्ही अर्थात् आजको दिन चोकचोकमा फाल्ने परम्परा रहेको स्थानीय संस्कृतकर्मी कमलकृष्ण श्रेष्ठ बताउनुहुन्छ । पुराना काम नलाग्ने माटाको भाँडा घरमा राख्दा अशुभ हुने जनविश्वासका साथ आजकै दिन वर्षमा एकपटक माटाको भाँडा चोकचोकमा फाल्ने परम्परा रहेको उहाँको भनाइ छ ।