May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा देउवा, ओली र प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएका छन। आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासहित ओली र प्रचण्ड छलफलमा जुट्ने भएका हुन्।

Advertisement

अमेरिकी सहयोग परियोजना एमसिसी र स्थानीय चुनावको मितिबारे उनीहरू छलफल हुन लागेको बालुवाटार स्रोतले जनाएको छ। सरकारले स्थानीय तह चुनाव जेठ ४ मा गर्ने तयारी गरेको छ। सम्भवत सोमबारको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनावको मिति तय हुनेछ।प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार जान लागेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

‘प्रधानमन्त्रीज्यूले छलफलका लागि बोलाउनु भएको छ,’ बजगाईंले भने, ‘अध्यक्षज्यू बालुवाटार जाँदै हुनुहुन्छ।’तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुन लागेको बताइएको छ। छलफलमा सत्तारूढ दलका अन्य पार्टीका शीर्ष नेताहरूलाई बोलाइएको छैन।

गत असारमा प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक बालुवाटार जान लागेका हुन्। नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि ओली र प्रचण्डबीच छलफल भएको छैन।यसअघि पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ ।