May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छ : महासचिव पोखरेल

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । एमाले सिरहाको १०आँै जिल्ला अधिवेशनलाई लहानमा आज सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने र एमाले प्रदेश २ कै ठूलो दल बन्ने दाबी गर्नुभयो ।

तराई–मधेसका जनताले अब जातीय र क्षेत्रीय मुद्दाभन्दा विकास खोजिरहेकाले एमालेको लहर तराई–मधेसमा पनि बढ्दै जान थालेको बताउँदै उहाँले अन्तरद्वन्द्वमा खेलेर एमाले पार्टीलाई कमजोर बनाउन खोज्नेहरू आगामी निर्वाचनबाट परास्त हुने जिकिरसमेत गर्नुभयो ।

तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उहाँले जति चाँडो निर्वाचन भयो त्यति चाँडो निकास र विकासको बाटो खुल्ने भएकाले कुनै पनि बहानामा निर्वाचनलाई पर सार्ने काम गर्न नहुने बताउनुभयो । कार्यक्रममा एमालेको सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरु ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल लगायतले सम्बोधन गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

Advertisement