May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

गठबन्धनको बैठक: सरकारलाई सहयोग गर्न पौडेलको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उक्त संयन्त्रमा कांग्रेसबाट कृष्ण सिटौला र मन्त्रीबाट ज्ञानेन्द्र कार्की सदस्य छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ सदस्य छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सदस्य रहेको उनले जानकारी दिए।

‘नेकपा एकीकृत समाजवादी, जसपाले एक् जनाको नाम दिन बाँकी छ,’ उनले भने। दुई-दुई महिनामा संयोजक परिवर्तन हुने उनले बताए। ‘तत्काल यो समितिले राष्ट्रियसभा रिक्त सदस्य निर्वाचन, प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा मिलेर जानेबारे गृहकार्य गर्नेछ। अनि सरकारलाई समग्र हिसाबले सहयोग गर्नेछ’, उनले भने।

Advertisement