May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश जारी गर्ने न्यायाधीशलाई राजीनामा गर्न सुझाव दिएका छन् ।

Advertisement

मङ्गलवार पार्टी कार्यालय बबरमहलबाट एमालेको पालिका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले पाकिस्तानी शैलीमा परमादेश जारी गर्ने सबैले राजीनामा दिनुपर्ने बताएका हुन् । ओलीले नागरिकले न्यायका लागि भरोसा गर्ने ठाउँ अदालतलाई विवाद र तमासाको थलो नबनाउन आग्रह समेत गरे ।

‘हिजो पाकिस्तानी शैलीमा सरकार ढाल्ने श्रीमान् न्यायाधीशहरू । यति घण्टा, यति बजे भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने तपाईंहरु अहिले पोल खोलाखोल गर्नुहुँदैछ । तपाईंहरु पाँचैजनाले सर्वसम्मतिका आधारमा परमादेश गर्नुभएको होला । अहिले एकजनाले किन ? तपाईहरु पाँचैजनाले राजीनामा गरे हुन्न ?’ ओलीले सोधे,‘ लोकतन्त्रमा जनताको आशा भरोसा न्याय प्रणालीप्रति हुनुपर्छ । अन्त न्याय नपाए अदालत गएपछि पाइन्छ भन्ने हुनुपर्छ । तर के आज त्यो स्थिति छ ?’ उनले जनतालाई समस्या परेका मुद्दा त पेन्डिङमै रहेको र नक्कली मुद्दाहरू खडा गर्ने काम भइरहेको आरोप लगाए ।

‘यो न्यायाधीश राख्नुहुन्छ । त्यो न्यायाधीश राख्नुहुन्न । यो न्यायाधीश राखे आफू नबस्ने, बस्छु भन्नेलाई छाड्न लगाउने । बस्दिन भनेर छाडेकालाई राखिने । बारले इजलास गठन गर्ने । अधिवक्ताले इजलास गठन गर्नेजस्ता अभ्यासहरू भइरहेका छन्,’ उनले भने,‘ म कानुन व्यवसायी होइन । कानुन व्यवसाय गर्नेले त संविधान बुझ्नुपर्नेजस्तो लाग्छ ।

संविधानमा हुँदै नभएको कुरा, राष्ट्रपतिको अधिकारमाथि धावा बोलेर, यति बजेभित्र, चौबिस घण्टामा भनेर राष्ट्रपतिलाई परमादेश जारी गर्ने अहिले तपाईंहरू पोल खोला खोला गर्दै हुनुहुन्छ ।’ओलीले बार र वकिलले संसद् विघटनका बेला बार र वकिलले इजलास तोक्ने काम गरेको आरोप लगाउदै हुँदै नभएको आधारमा राष्ट्रपतिलाई परमादेश जारी गरिएको जिकिर गरे । एमाले अध्यक्ष ओलीले वर्तमान पुर्ण रुपमा असफल भएको दावी गरे ।