May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Advertisement

माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ साथै शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको र अब माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताए।

प्रचण्डले आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको भन्दै मोहन वैद्य, विप्लब, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिने बताए ।

प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ।’

अध्यक्ष प्रचण्डले आफूलाई पहिलोपटक प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्रैबाट षड्यन्त्र भए पनि आफू अहिले त्यसो भन्ने पक्षमा नरहेको बताए । आफूविरुद्ध कहाँ कहाँ बैठक बसेर कसले के गर्‍यो भन्ने जानकारी आफूलाई रहेको प्रचण्डले बताए ।

हामी अहिले हिजोका जनयुद्धका सहयात्रीहरू सबैले आ–आफ्नो आत्मसमीक्षा इमान्दारीता साथ, मार्क्सवादी स्प्रिटको साथ गर्न तयार हुने हो र समाजवादप्रति इमान्दार भएर कार्यक्रम बनाएर अगाडी लाग्ने हो भने हामी अझै पनि यो देशको मुख्य शक्तिको रूपमा, निर्णायक शक्तिको रूपमा अगाडी बढ्ने सम्भावना छ । हामी सबै आत्मसमीक्षाको लागि तयार हौँ ।’ प्रचण्डले भने