May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

केपी ओली सामन्ती हिन्दु अतिवादी, हरुवा,भगौडा बुद्धि नभएको नेता- प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बतायका हुन्। ‘केपी प्रवृत्ति सामान्ती हिन्दु अतिवादी हो’, प्रचण्डले भने, ‘पशुपतिमा जलहरी चढाउँदै हिँडे। मेरो निर्वाचन क्षेत्रमा राम, सीता, हनुमान राख्दै हिँडे। रामसीताको विषयमा म लड्न जानु त भएन नि।’

Advertisement

प्रचण्ड’ले केपी ओलीले नेपालको इतिहासमा महान् नेता बन्ने अवसर गुमाएको बताएका छन्। आफूले केपी ओलीजस्तो बुद्धि नभएको नेता कोही नदेखेको बताय । उनले भने, ‘केपी जति बुद्धि नभएको नेता मैले कोही पनि देख्या छैन। यति ठूलो उनलाई अवसर थियो। चुप लागेर एकताको बेलामा जे सहमति भएको थियो, समझदारी भएको थियो, त्यो पालना गरेको भए केपी ओलीलाई नेपालको इतिहासमा एउटा महान् नेता हुने अवसर थियो। तर गिदीभित्र गोबर भरिएपछि केही लागेन।’

मार्क्सवादी र समाजवादी आन्दोलन अघि बढाउन माओवादी केन्द्र र एमालेबीच एकता भएको विषय स्मरण गराउँदै प्रचण्डले केपी ओली त्यस बाटोबाट भागेको टिप्पणी गरे। यस अर्थमा केपी ओली हरुवा भएको पनि उनको दाबी छ। उनले ओलीको मार्क्सवाद विरोधी, समाजवाद विरोधी, जनविरोधी र राष्ट्र विरोधी चरित्रलाई उदांगो पारेको पनि बताए।

‘गम्भीरताको साथ, आत्मविश्वासका साथ, आक्रामक ढंगले गाउँ गाउँमा गएर भन्नुहोला। केपी हरुवा हुन्, भगौडा हुन्, कम्युनिष्ट आन्दोलनबाट भागे, मार्क्सवादबाट भागे, समाजवादी बाटोबाट भागे,’ उनले भने, ‘हामीले उनलाई मार्क्सवाद विरोधी, समाजवाद विरोधी, जनविरोधी र राष्ट्र विरोधी चरित्रलाई उदांगो पारेर दुई तिहाइ बहुमतसहित पार्टी सदस्यताबाट निष्कासित गरेको हो। त्यस कारण हामी विजेता हौं। उनी हरुवा हुन् भन्ने कुरा दिमागमा राख्नु होला।’