May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याइयो : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् ।

Advertisement

बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यादेश अनुसार एमाले विभाजन गराउने प्रयोजनकै निम्ति यस प्रकारको गतिविधि भएको आरोप लगाए । आफूहरुले पार्टी नफुटोस् भनेर १४ सांसदलाई कारवाही गरेको तर कारवाहीमा परेका ती सांसद लगायतको संख्या जोडेर अध्यादेशअनुसार दल विभाजन गराउनका लागि नै सभामुखबाट उनीहरु पदमुक्त भएको सूचना जारी नगरिएको उनको आरोप छ ।

तर, उक्त अध्यादेशले आफ्नै पार्टीमा पहिरो जाने त्रासमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु रहेका र फेरि उनीहरुले सो अध्यादेशलाई सच्याउने ओलीको भनाइ छ । अनुचित ढंग र कार्यबाट प्रतिपक्षी दल एमाले फुटाउने कार्यमा सरकार लागेको उनको आरोप छ ।

अध्यादेश जारी भएपछि एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साथै, महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।

दुवै दल दर्ताका लागि आयोगले अहिले धमाधम सनाखत गराइरहेको छ । यदि दुवै दलले केन्द्रीय सदस्य र संसदीय दलमा २०२० प्रतिशत जुटाउन सके भने नयाँ दलको प्रमाणपत्र पाउनेछन् ।