May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

नयाँ लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं । नयाँ चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

Advertisement

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ लाइसेन्सका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टानै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदा धेरै सेवाग्राहीले एकैपटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा. भुषालले जानकारी दिए ।

‘अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्,’ उनले भने ‘फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।’

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो संक्रमित भेटिएसँगै सरकारले लागु गरेको लकडाउनका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरू पनि बन्द भएका थिए ।

कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुलेपनि नयाँ लाइसेन्स सेवा भने अवरुद्ध थियो । कार्यालयले लाइसेन्स वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।

प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो । संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरू नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ । कार्यालयहरूले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चाबहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् ।

[रासस]