May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

एक गोप्य चिनियाँ टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय

काठमाडौ, १९ पुस । सत्तारुढ दल नेकपामा भएको विभाजन रोक्न एक गोप्य चिनियाँ टोली काठमाडौंमा सक्रिय रहेको दावी गरिएको छ।

Advertisement

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले एक चिनियाँ गोप्य टोली नेकपालाई एकजुट गराउन काठमाडौंमा गोप्य रुपले सक्रिय रहेको दावी गरेको छ।सो पत्रिकाले काठमाडौंमा रहेको चिनियाँ टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको समेत दाबी गरेको छ ।

उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ यैचौ नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको थियोर र उच्चस्तरीय भेटघाट गरी फर्किएको छ। तर, हिन्दुस्तान टाइम्सले यो टोली खुलमखुल्ला आएको र अर्को टोली गोप्य रुपमा परिचालित रहेको दावी गरेको छ।

तर, चिनियाँ टोली गोप्य रुपमा सक्रिय रहेको विषयमा स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। नेपालको राजनीतिमा भारतीयहरुले चिनियाँ प्रभाव बढेको प्रचार गर्दै आएका छन्। पछिल्ला दिनहरुमा नेपालको राजनीतिमा चीन देखिने गरी प्रस्तुत भएकाले पनि भारतको आरोपलाई बल मिल्दै गएको छ।

तर, भारतले आवश्यकताभन्दा धेरै शंका गरेको बताउनेहरु पनि छन्।भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको छ ।