May 8, 2024, Wednesday
२६ बैशाख २०८१, बुधबार

किन देखिन्छ यस्ता डरलाग्दा सपनाहरु ?

धेरै मानिस निद्रामा डरलाग्दा सपना देख्छन् । सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना देख्नुको कारण डिप्रेसन हाबी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने कुरा फिनल्यान्ड विश्वविद्यालय तथा फिनिस नेसनल इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले संयुक्त रूपमा गरेको अध्ययनबाट पत्ता लागेको छ ।

Advertisement

शोधमा २५ वर्षदेखि ७४ वर्षका मानिसलाई अध्ययनमा समावेश गरिएको थियो । शोधकर्ताहरूका अनुसार ३ दशमलव ९ प्रतिशत मानिसले पछिल्लो एक महिनाको अवधिमा प्रत्येक दिनजसो खराब सपना देखेका थिए जसमा ४ दशमलव ८ प्रतिशत महिला तथा २ दशमलव ९ प्रतिशत पुरुष थिए ।

यसमा २८ दशमलव १ प्रतिशत मानिस डिप्रेसन तथा १७ दशमलव १ प्रतिशत मानिसले कम समय सुतेका कारण खराब सपना देखेका थिए । अनिद्रा, थकान, डिप्रेसन तथा आफूप्रति नकारात्मक धारणा रहेका कारण यस्ता सपना देखिने कुरा शोधबाट पत्ता लागेको थियो ।

सपनाको अर्थ बुझ्न सकिदैन । सपनाहरु राम्रा वा नराम्रो दुवै देखिन्छ । कहिले काँही डरलाग्दा सपनाहरु पनि देख्ने गरिन्छ । प्रसिद्ध लेखक थेरेसा चियुन्गले सपनाको अर्थको बारेमा बताएका छन् । उनले सपनालाई व्यक्तिको व्यक्तिगत वृद्धि र रचनात्मकताको संकेत भएको बताएका छन् ।

मृत्यु
सपनामा कसैको मृत्यु भएको देख्नु जीवनमा आउने परिवर्तनको संकेत हो । यसको अर्थ सपना देख्ने व्यक्तिले जीवनमा कुनै कुरालाई अदबिदा भन्नुपर्ने समय आएको संकेत गर्ने थेरेसा बताउँछन् । कुनै काम, जागिर, घर वा सम्बन्धलाई समाप्त गर्नुपर्ने समय आएको बुझ्न सकिन्छ ।

गर्भवती हुनु
यदि तपाईंले सपनामा आफू गर्भवती भएको देख्नुभयो भने वर्तमानमा गरिरहेको काममा सफलता प्राप्त हुँदैछ भन्ने संकेत हुनसक्छ । नयाँ कुराको सुरुवात हुँदैछ भन्ने संकेत पनि हुनसक्छ ।

जबरजस्ती कसैसँग सुत्नु
सपनामा कसैसँग जबरजस्ती सुत्नुको अर्थ जिन्दगी वा सम्बन्धमा कुनै चिज गुमाउँदै छु भन्ने बुझ्नुपर्छ ।

भीडमा नाङ्गो हुनु
यदि सपनामा भीडमा नाङ्गो भएको देखियो भने देखावटी प्रवृत्तिलाई त्याग्ने समय आएको भन्ने बुझ्नुपर्छ । परीक्षाको लागि तयारी नहुनु सपनामा परीक्षा आएको तर उत्तर दिन नसकेर आत्तिएको सपना देखिन्छ भने आफ्नो व्यक्तित्व विकास गर्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ । कमजोरीलाई छोडेर अगाडि बढ्नुपर्ने समय आएको भन्ने बुझ्नुपर्छ ।

उचाईबाट लड्न
सपनामा अग्लो ठाउँबाट लडेको देखियो भने जिन्दगीमा केही कुराहरु आफ्नो नियन्त्रणबाट बाहिर गएको भन्ने बुझ्नुपर्छ ।

कसैले पिछा गरेको
वास्तविक जीवनमा कसैसँग भागिरहेको हुनुहुन्छ भने सपनामा उक्त परिस्थितीसँग जुझिरहेको हुनुहुन्छ । कुनै भावना वा जिम्मेवारीबाट भाग्दै हुनुहुन्छ भने त्यसको सामना गरेर अगाडि बढ्न संकेत दिएको हुनसक्छ ।