May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

ढुंगाको आँशु झार्छिन् यी बालिका

भारतको एक दुर्गम क्षेत्रकी १५ वर्षीया एक बालिकाको आँखाबाट दैनिक रुपमा ढुंगा निस्कने गरेको छ । पछिल्लो दुई महिनादेखि यस्तै हुँदै आइरहेको छ, तर डाक्टरलाई नै यसको चिकित्सकीय कारण थाहा छैन । यी बालिकाको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट साना ढुंगाहरु खस्न थालेका थिए । त्यसयता, दैनिक रुपमा उनी १० देखि १५ पटक यसरी ढुंगा झार्दै रुन्छिन् ।

Advertisement

यस्तो समस्या सुरु भएयता परिवारले उनको आँखाबाट झरेका झन्डै ७० वटा स–सना ढुंगाहरु संकलन गरेर राखेको छ । चाँदनी नामकी यी बालिकाको आँखाबाट बिहानै ६ बजे साना ढुंगाहरु झर्न थाल्छन् र साँझसम्म यो क्रम जारी रहन्छ । तर, रातको समयमा भने ढुंगा झर्दैन ।

केही दिनअघि भाइरल भएको छोटो भिडियोमा चाँदनीको देब्रे आँखाबाट सानो ढुंगा झरेको देखिन्छ । यसको छोटो समयपछि दायाँ आँखाबाट अर्को ढुंगा झर्छ । र उत्तर प्रदेश राज्यस्थित गादिया बलिदस्पुर गाउँका चाँदनीका गाउँले र उनका आफन्तहरु यी बालिकाले रुँदै ढुंगा झार्ने गरेको विषयमा सहमत छन् । तर, नेत्र विज्ञानका ज्ञाताहरु यस्तो विषय असम्भव रहेको बताउँछन् ।

भारतका चर्चित नेत्र विज्ञान चिकित्सक डाक्टर अवदेश कुमारले यस्तो कुराको कुनै वैज्ञानिक आधार नरहेको बताए । उनले चर्चामा आउनका लागि बालिका आफैंले आँखामा ढुंगा हालेको वा अरु कसैले यस्तो गरिदिएको हुनसक्ने बताए ।

दुर्गा आँखा अस्पतालका निर्देशक डाक्टर निरज गुप्ताले यस्तो विषय चिकित्सा विज्ञानसम्मत नरहेको र चर्चाका लागि यस्तो गरिएको हुनसक्ने बताए । गरिबीका कारण चाँदनीको परिवारले परीक्षणका लागि व्यवसायिक चिकित्सकहरुलाई देखाउन सकेको छैन । त्यहीकारण उनको स्वास्थलाई लिएर देखिएको रहस्यको गुत्थी पनि सुल्झिएको छैन ।