May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

तीन कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’

कृषि क्षेत्रमा उलेख्य काम गर्ने जिल्लाका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले उहाँहरुलाई पुरस्कृत गरेको हो ।

Advertisement

पुरस्कृत हुनेमा जोरायल गाउँपालिका–१ का खडकबहादुर मल्ल, जोरायल–३ का विष्नादेवी अवस्थी र शिखर नगरपालिका–१० का देवकीकुमारी दियाल (महरा) रहनुभएको छ । कृषक मल्लले तरकारी खेती, अवस्थीले पनि तरकारी खेती र च्याउँ खेती अनि महराले पशुपालन व्यवसायबाट उलेख्य काम गर्नुभएकाले पुरस्कृत हुनुभएको हो । कृषि विकास निर्देशनालयमा आज आयोजित एक कार्यक्रमका बीच उहाँहरुलाई जनही रु २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष कार्यविधि बनाएर यो पुरस्कार प्रदान गर्ने तयारी गरेको र यस वर्षबाट शुरुवात गरेको कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले जानकारी दिनुभयो । डडेल्धुरा जिल्लामा जन्मिनुभएका किसान नेता एवं शहीद भीमदत्त पन्तको नामबाट उक्त पुरस्कार राखिएको हो । कृषि र पशुपालन क्षेत्रमा राम्रो काम तथा आम्दानी गर्ने किसानको हौसला बढाउनका लागि उक्त पुरस्कार र सम्मान प्रदान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका प्रमुख खडकबहादुर शाहले बताउनुभयो ।

“भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’बाट आफू पुरस्कृत भएकोमा आफू निकै खुशी हुनुका साथै कृषि क्षेत्रमा काम गर्नेथप हौसला प्रदान भएको जोरायल गाउँपालिका–१ का कृषक खडकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गरेको कामको मुल्याङकन गरि पुरस्कृत गरेकोमा खुसी भएको छु, कृषि क्षेत्रमा थप काम गर्ने हौसला प्रदान भएको छ ।” उहाँले विसं २०५८ देखि जोरायल गाउँपालिका–१ तिलाचौडमा तरकारी खेती गर्दै आउनुभएको छ ।

यस्तै जोरायल गाउँपालिका–३ का किसान विष्नादेवी अवस्थीले आफूले हालसम्म कुनै पनि प्राविधिक तालिम नलिएरै भए पनि च्याउ खेती, तरकारी खेती, मसलाबालीको खेती र कुखुरापालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले तालिम नलिएरै कृषि काम गरेकी थिए, तरकारी र च्याउ खेतीले राम्रो आम्दानी भएको छ, आज पुरस्कृत भए खुसी छु ।” उता शिखर नगरपालिका–१० का कृषक देवकीकुमारी दियाल (महरा)ले आफूले गरेको पशुपालनको स्थलगत अनुगमन र मूल्याङ्कन गरी आफूलाई पुरस्कृत गरेकोमा निकै खुुसी व्यक्त गर्नुभयो । साथै आफूले २० रोपनी जमीनमा तरकारी खेती पनि गर्दै आएको र राम्रै आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन र कृषिसम्बन्धी हालसम्म आफूलै कुनै किसिमको तालिम नलिएकाले तालिम पाउन सकेमा अझै राम्रो गर्न सकिने महराले आग्रह गर्नुभयो । सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका तीन÷तीन जनाका दरले कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गर्ने तयारी भइरहेको कृषि विकास निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार यहाँका नौ जिल्लाबाट छनोट गरी २७ जना कृषकमध्येबाट यही पुस ५ गते पुनः एक जनालाई सर्वोत्कृष्ट र चार जनालाई उत्कृष्ट गरी पाँच जना कृषकलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।