May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

मैले कसैको दबाबमा काम गरेको छैन र गर्दैन – सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास असफल पारिछाड्ने दावी गरेका छन् । पत्रकार महासंघका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण समारोहमा बोल्दै सभामुख सापकोटाले संविधानको रक्षार्थ प्रतिनिधि सभा अघि बढेको दाबी गरे।

Advertisement

‘जब राष्ट्रिय हितको सवालमा पुरै दृढतापूर्वक अघि बढ्न सुरू गर्‍यो’, सापकोटाले भने, ‘त्यहिँबाट संघीय संसद माथि निकै ठूलो घेराबन्दी भइरहेको छ।’‘कुनै कुराको त्याग गर्न र कुनै कुराको जोखिम लिन मलाई कठिनाइ हुने छैन । देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन’, सापकोटाले भने ।

शनिबार सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सभामुख सापकोटाले संसदलाई घेराबन्दी गर्ने प्रयास भएको बताए ।सरकारले पछिल्लो पटक अमेरिकी सहयोग एमसिसी अनुमोदन गराउने कोशिश गरिरहेको छ।

एमसिसी अनुमोदन गराउने विषयमा सभामुख निर्वाचित भएको दल नेकपा माओ‌वादी केन्द्र स्पष्ट छैन। सभामुख सापकोटाले एमसिसी पास गर्न रोकेको प्रधानमन्त्रीको आरोप छ। सभामुख सापकोटाले भने एमसिसीबारे स्पष्ट धारणा राखेका छैनन्। उनले एमसिसी बहसमा विषय भनेर पन्छने गरेका छन्। सभामुख सापकोटाले आफ्नाबारे भइरहेको टिप्पणीबारे जानकार रहेको बताएका छन्।

‘मैले स्वतन्त्रतापूर्वक काम गर्नुपर्छ। मैले कसैको दबाबमा काम गरेको छैन र कसैको प्रभावमा काम गरेको छैन’, सापकोटाले भने, ‘मैले फेयरनेस पनि हेर्नुपर्छ। जनताले २७५ जना अर्थात् ३३४ जनालाई सार्वभौमसत्ता सुम्पेका छन्। त्यो सार्वभौमसत्ताको निहित अधिकार खास खास बेलामा सभामुखमा केन्द्रित हुन्छ। सभामुखले देशका सबै जनताको भावना बुझेर अगाडि बढ्नुपर्छ।’उनले आफूले स्वतन्त्रतापूर्वक काम गर्ने बताए ।