May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

पृथ्वीसुब्बाविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदै , मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्रलाई

गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरूले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरू अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णयमा पुगेका हुन्।

Advertisement

सरकार परिवर्तन गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सहमति भइसकेको छ। अविश्वासको प्रस्ताव दर्ता गर्न यी तीन दलले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका थिए।बुधबार आन्तरिक छलफलमा जुटेका कांग्रेस, माओवादी र जसपाले जनमोर्चाकोसमेत साथ पाउने भएपछि आजै अविश्वासको प्रस्ताव दर्ता गराउने भएका छन् ।

यी सबै दलका अधिकांश सांसद पोखरामै छन् । जनमोर्चाको समर्थनले नयाँ सरकार बन्छ भने पृथ्वीसुब्बा नेतृत्वको सरकार ढल्छ । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् ।

कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् । नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ । माओवादीका एक जना सांसद सभामुख भएकाले पृथ्वीसुब्बाको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको छ

नयाँ सरकार गठन गर्न एकै ठाउँ उभिएका दलले संसद सचिवालयमा आजै बिहान अविश्वासको प्रस्ताव दर्ता गराउने गरी ११ बजे जम्मा हुन लागिएको कांग्रेस वार्ता कमिटी संयोजक कुमार खड्काले जानकारी दिए । नयाँ सरकार गठन हुदा नेपाली कांग्रेस संसदीय दलका नेता नेपाली मुख्यमन्त्रीमा चयन हुनेछन्। प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जान माओवादी सहमत भइसकेको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्री कसलाई बनाउने त्यो पनि खुलाउनुपर्ने पर्ने व्यवस्था छ । सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेसले संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सारेको संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिए ।