May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

करिब ५ अर्बको आइपीओ आउँदै

काठमाडौं : नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या १२ पुगेको छ । १२ कम्पनीले ४ अर्ब ९२ करोड ७० लाख ४४ हजार ५ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका हुन् ।

Advertisement

यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ४ करोड ९२ लाख ७० हजार ४४५ कित्ता सेयर सर्वसाधारणलाई जारी हुनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् ।

पाइपलाइनमा रहेका मध्ये एउटा जीवन बिमा कम्पनी पनि रहेको छ । त्यस्तै, अर्को डिस मिडिया नेटवर्क पनि आइपीओ पाइपलाइनमा बसेको छ । यतिबेला दोस्रो बजार वृद्धि भइरहेकाले प्राथमिक बजारमा पनि निकै क्रेज छ । प्राथमिक बजारबाट दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताहरुको संख्या पनि वृद्धि भइरहेको छ । धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने अधिकांश कम्पनीले आफ्नो वार्षिक साधारण सभामार्फत आइपीओ निकाष्सन गर्ने पस्ताव पारित गरिसकेका छन् ।

प्राथमिक बजारमा आइपीओ जारी भएपछि सेयर कारोबारका लागि नेप्से तथा सीडीएसमा सूचीकरण गर्नुपर्छ । यसर्थ, आइपीओले पुँजी बजारको दायरा थप फराकिलो पार्ने गर्छ । पछिल्लो समय सर्वसाधारणमा आइपीओ आकर्षण अत्याधिक देखिएको छ । फेस भ्यालुमा लगानी गर्न पाइने भएकाले नयाँ लगानीकर्ताको आगमन पनि बढ्दो क्रममा छ ।

३ कम्पनीको आवेदन अनुमति रद्द 

नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्ने ३ कम्पनीको भने आवेदन  रद्द गरिएको छ । विगत ६ महिनादेखि आवेदन अनुमति स्वीकृतका लागि थप कागजपत्रहरु माग गर्दा उपलब्ध नगराउने ३ कम्पनीको आइपीओ अनुमति रद्द गरिएको बोर्डको भनाई छ । आइपीओ निष्कासन अनुमति रद्द हुनेमा तेह्रथुम पावर कम्पनी, शुभम् पावर र इमर्जिङ नेपाल रहेका छन् ।

यी कम्पनीले विगत लामो समयदेखि आइपीओ निष्कासनका लागि अनुमति मागेका थिए । तर ६ महिनादेखि आवश्यक कागज माग गर्दा बोर्डमा उपलब्ध गराएका थिएनन् । तथापि, आइपीओ निष्कासन अनुमति रद्द गरिएका कम्पनीले आवश्यक कागज पुर्याएर आइपीओ जारी गर्ने अनुमति मागेमा पुनः स्वीकृत हुने बोर्डले जनाएको छ ।