May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव, रिपोमा २.४८ गुणा बढी रकम माग

तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब रुपैयाँको रिपो जारी गरेको छ, त्यसमा बैंक तथा वित्तीय संस्थाहरूले औसतमा २ दशमलव ४८ गुणा बढी रकम माग गरेका हुन् ।

Advertisement

रकमका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले ३ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ रकम माग गरेका छन् । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले त्यस बराबरको रकम माग गरेका हुन् । यसले बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव भएको पुष्टि भएको छ । राष्ट्र बैंकहरूअनुसार पछिल्लो समय बिडिङ राखिएको रकम सबै बैंकले लिने गरेका छन् ।

बैंकिङ क्षेत्रमा तरलता अभाव भएपछि राष्ट्र बैंकले भदौ १७ गतेयता ५ पटक गरेर उक्त बराबरको रिपो जारी गरेको थियो । त्यसमा ५ पटक नै बिडिङमा राखिएको रकमभन्दा बढी रकम नै माग भएको हो ।

कतिपय सरोकारवालाहरूले बैंकहरूले कृत्रिम रूपमा तरलताको अभाव बनाएको व्याख्या पनि गर्दै आएका छन् । वाणिज्य बैंकहरूले असोजको पहिलो साता ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । त्यसअवधिमा ८ अर्ब मात्र निक्षेप संकलन भएको छ । यस अवस्थामा बैंकहरूले कृत्रिम रूपमा तरलता अभाव गरेका हुन सक्ने उनीहरूको शंका छ । राष्ट्र बैंकले सीडी रेसियो लागू गरेपछि बैंकहरूले त्यसमा असन्तुष्टि पोखेका छन् । आर्थिक अभियान दैनिकबाट