May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा

नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी विनिमय डेरिभेटिभको अवस्था यस्तो देखिएको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय डेरिभेटिभ बजार सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । राष्ट्र बैंकले उक्त अध्ययनको प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको हो ।

अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गरेको छ । साथै, डेरिभेटिभ उपकरणसम्बन्धी कानूनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको स्थितिबारे पनि विश्लेषण गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले बताए । यसका अतिरिक्त अध्ययनले सार्क मुलुकका विदेशी विनिमय डेरिभेटिभ बजारको अवस्थाका बारे पनि विश्लेषण गरिएको छ ।

अध्ययनले विदेशी विनिमय डेरिभेटिभ कारोबारलाई समेट्ने छुट्टै कानूनी व्यवस्था गर्नुपर्ने पनि औंल्याएको छ । हालको ओभर दि काउन्टर (ओटीसी) बजारलाई सहजता प्रदान गर्न र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न दीर्घकालन रूपमा फर्वार्ड, स्वाप्स र विकल्पहरूलाई प्रवद्र्धन गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार दक्षिण एशियाको देशहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको विदेशी विनिमय डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो देखिएको छ । नेपालको हकमा भने प्रारम्भिक अवस्थामा नै रहेको प्रतिवेदनमा उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।