May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

साइडवेजमा सेयर बजार

नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकांक २५४८.९६ विन्दुमा उक्लन सफल भएको छ । साताभरमा नेप्सेमा २.९८ प्रतिशत अर्थात् ७३.८७ अंकको बढोत्तरी देखिएको हो ।

Advertisement

नेप्सेमा साताभरमा देखिएको यो सामान्य वृद्धिमा बजार अझै उच्च गतिमा उकालो लाग्ने आधारहरु भने खासै देखिँदैन । सेयर बजारमा ठूलो संख्यामा नयाँ लगानीकर्ता भित्रिएका छन् । उनीहरुले प्राथमिक सेयरमा मात्र लगानी होइन दोस्रो बजारमा समेत केही खरिदारी गर्न थालेका कारण बजार उच्च गतिमा तल झर्ने सम्भावना पनि न्यून नै देखिन्छ ।

अबका दिनहरुमा बजार माथि जान बलियो आधार तयार हुनुपर्ने देखिन्छ । एक हजार एक सयको हाराहारीबाट उकालो लागेको बजार दुई हजार ६ सय ७० को विन्दु छोएर करिब १० प्रतिशतको करेक्सन पश्चात् पुनः सुस्तरी उकालो लागेको हो । अहिले सेयर बजार एकाएक बढेको समयमा छोटो समयका लागि ठूलै रकम लगानी गरेर छिरेका कैयन स्मार्ट लगानीकर्ता राम्रो नाफा बुकिङ्ग गर्दै बजारबाट बाहिरी सकेको अवस्था हो ।

बजारमा भने नेप्से घट्नै नहुने, घट्छ केही करेक्सन हुन्छ भन्ने सुन्नै नचाहनेको जमात नै बढी भेटिन्छ । प्राविधिक विश्लेषणको आधारमा बजारको आफ्नै दिशा भएतापनि नेप्सेमा सूचिकृत कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा सो कम्पनीले आगामी दिनमा दिनसक्ने प्रतिफललाई आधार मानेर नै सेयर खरिद गर्ने हो ।

साइडवेज सेयर मार्केट

लामो समयका लागि बजारमा लगानी गर्दा आगामी तीन वर्षजति ढुक्क भएर लगानी गर्न सक्ने हुनुपर्छ । सेयर खरिद गर्दा बजार बुलिस ट्रेन्डको यात्रामै रहेको स्वीकार गरिए तापनि कस्तो कम्पनी खरिद गर्ने, आफूले खरिद गर्ने कम्पनीको बजार मूल्य र त्यसले दिने प्रतिफल र कम्पनीको आर्थिक स्वास्थ्य कस्तो छ भन्ने विषय नै महत्त्वपूर्ण देखिन्छ ।

हल्लाको भरमा सेयर खरिद गर्ने हो भने जुन कम्पनी खरिद गरे पनि भो, जहिले खरिद गर्दा पनि भो । तर कम्पनीले दिने प्रतिफल केलाउँदा भने कैयन कम्पनीहरु जो लगानीको अनुपातमा प्रतिफल दिन योग्य नै छैनन् त्यस्ता कम्पनीको उच्च मूल्य पुगेको देखिन्छ ।

उदाहरणको लागि उत्पादन नै सुरु नभएको अपर तामाकोसी, साञ्जेन, रसुवागढी, हिमालयन पावर पार्टनर जस्ता जलविद्युत आयोजनाहरुको बजारमा सेयरको मूल्य तत्काल प्रतिफल दिनसक्ने कम्पनीको तुलनामा उच्च छ । अन्दाजको भरमा र सामाजिक सञ्जालमा सकारात्मक प्रभाव फैलाएको भरमा नै सेयरका मूल्य उच्च बनाउने र बिक्री गर्नेहरुको सक्रियता बढेको देखिन्छ ।

त्यसैगरी, हाल घाटामा रहेको चन्द्रागिरी हिल्सको बजारमूल्य र त्यसमा लगानी गर्दा पाइने प्रतिफल मेल खान्छ । अनि कोभिडका कारण थलिएको होटल समूहका कम्पनीहरुको हालको आम्दानी, गत वर्षको घाटा अनि अझै केही समय पर्यटन क्षेत्रमा देखिनसक्ने शिथिलताको आधारमा हाल होटल समूहको सेयरको बजार मूल्य खरिद योग्य छछैन त्यो लगानीकर्ता आफैले मूल्याङ्कन गर्ने विषय हो ।

यस्तै, बजारमा कैयन वर्षदेखि राम्रो प्रतिफल दिँदै आएका र हाल पनि आर्थिक अवस्था निकै राम्रो भएका कम्पनीहरुको सेयर मूल्य निकै कम भएको पाइन्छ । त्यस्ता कम्पनीहरु खोजीखोजी लगानी गर्न सक्नु नै हाल लगानीकर्ताका लागि चुनौतिको विषय हो । किनभने आगामी दुईतीन वर्षमा नेप्सेमा उछाल आउने निश्चितप्रायः छ । त्यस्तो अवस्थामा आफूले खरिद गरेको कम्पनीको मूल्य पनि बजार बढेको आधारमा उच्च हुनसक्ने लगानी नै अहिले गर्नुपर्ने हो ।

बजार बढेको बढ्यै हुने कुरा होइन । अबको केही महिना हालकै अवस्थामा बजार रहन सक्ने निश्चित छ । अब बजारले पहिलेको उच्च विन्दूलाई नाघेर अघि बढ्नका लागि गतिलो आधार चाहिन्छ । त्यसका लागि नयाँ सरकार गठन वा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उच्च प्रतिफल हासिल गर्नसक्ने कम्पनीहरुका कारण बजार केही माथि जाने सम्भावना भने छ । यही सरकारले निरन्तरता पाउने अवस्थामा भने सरकारले ल्याउने बजेट र मौद्रिक नीतिमा हुने परिवर्तनहरुलाई बजारले कसरी लिन्छ त्यो महत्वपूर्ण हुन्छ ।

कोभिड पश्चात् ठूलो रकम लिएर छिरेका थुप्रै लगानीकर्तामध्ये अधिकांश भने सेयर बजारको छोटो समयको उच्च नाफा लिएर पुनः आफ्नो पहिलेकै व्यावसायमा फर्किसकेका छन् । त्यस्ता कारोबारीलाई पुनः बजारमा छिराउन बलियो आधार चाहिन्छ । त्यसको लागि वातावरण भने निर्माण हुँदैन । सेयर बजारको सुन्दर पक्ष भनेको नै बजार निश्चित समय उकालो लागे पश्चात् केही समय करेक्सन र केही समय साइडवेज पश्चात् माथि जानु नै हो ।

त्यसैले आगामी आर्थिक वर्ष वा सरकारले बजेट वा मौद्रिक नीति मार्फत ल्याउने बजार मैत्री नीतिमा नै बजारको उच्च बढोत्तरी देखिन्छ । बजारमा धेरै कारोबारी छिर्ने समय भनेको प्राविधिक विश्लेषणले सही ठहर्याए पश्चात् र बजार पुनः बढ्न थालेपछि नै हो । त्यसका लागि अझै केही समयको पर्खाइ आवश्यक जस्तो देखिन्छ । नाफा बुक गरेर बजारबाट निस्किएका लगानीकर्ताका लागि अहिले बजार थप माथि जान्छ भन्ने आधार देखिँदैन भने हाल बजारमा राम्रो करेक्सन आएर पुनः खरिद गर्ने वातावरण पनि बनेको अवस्था छैन ।

यद्यपी, नेपाली सेयर बजारमा दैनिक उच्च मात्रामा नयाँ लगानीकर्ता छिरेको र उनीहरुले सेयरको माग बढाएको कारण बजारमा ठूलो गिरावट आउने अवस्था भने तत्काल देखिँदैन । तसर्थ, बजार साइड वेजमा अझै केही समय रहने सम्भावना बढ्दो छ ।