May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

कोरोना बीमा वापत संक्रमितहरुले पाए पौने दुई अर्ब भुक्तानी, ९० जनाले दाबी भुक्तानी नपाउने

काठमाडौं । कोरोना संक्रमित भई बीमा दाबी गरेका कूल ३२ हजार ७ सय ८८ जनामध्ये १७ हजार ३ सय ९४ जना संक्रमितले झण्डै पौने दुई अर्ब रुपैयाँ दाबी भुक्तानी बुझेका छन् । २० वटा बीमा कम्पनी तथा नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त रकम बीमितहरुले पाएका हुन् ।

Advertisement

बीमा समितिका अनुसार उल्लेखित संक्रमितहरुले मंगलबार साँझसम्म कूल एक अर्ब ६९ करोड ४९ लाख रुपैयाँ दावी भुक्तानी बुझिसकेका छन् । यो संख्या कूल कोरोना बीमा सम्बन्धी सदर फाईको आधाभन्दा बढी हो ।

कोरोना बीमाको दावी भुक्तानीमा समस्या परेको भन्दै सञ्चार माध्यम, अर्थमन्त्रालयले चर्को दवाव दिएपछि बीमा समितिले विशेष कार्यदल बनाएर दावी भुक्तानी सहज र छिटो हुने व्यवस्था गर्दै आएको छ । बीमा समितिका अनुसार स्वास्थ्ये सेवा विभागमा चार हजार ३३० वटा फाईल पेण्डिङ्मा रहेका छन् ।

त्यस्तै, हालसम्म दोहोरो दाबी भुक्तानीको लागि माग गर्ने ९० जनाको फाईल भुक्तानी नदिने गरी निर्णय गरिएको छ । बीमाको सिद्धान्त अनुसार एउटा कम्पनीबाट दाबी भुक्तानी माग गरेपछि पुनः अर्को कम्पनीबाट दाबी भुक्तानी माग गर्न पाइने छैन ।

दोहोरो दाबी भुक्तानी रोक्न तथा कीर्ते रिपोर्टहरु प्रशोधन गर्न पिसिआर रिपोर्टलाई स्वास्थ्य सेवा विभागबाट प्रमाणित गर्ने व्यवस्था मिलाइएको छ ।