आइपिएलमा सन्दीपको मूल्य ६४ लाख

एजेन्सी । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु ( ६४ लाख नेपाली रुपैयाँ) तोकेका छन् ।

Advertisement

नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराएपनि सन्दीपमात्र मेगा अक्सनमा जाने भएका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) ले सर्ट लिष्ट गर्दै नेपालबाट सन्दीप मात्र अक्सनमा जाने भएका छन् । सन्दीप बाहेक नेपालबाट आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित कुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका हुन् । तर आइपिएलको सर्ट लिष्टमा उनीहरु पर्न सकेनन् ।

सन्दीपलाई अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा कम्तीमा ४० लाख भारु पाउने निश्चित हुने छ । मेगा अक्सनमा कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएपनि सर्ट लिष्टमा ५ सय ९० खेलाडी मात्र अटाएका छन् । जसमा ३ सय ५५ अन क्याप्ड छन् । ३ सय ७० भारतीय र २ सय २० विदेशी खेलाडी छन् ।

अष्ट्रेलियाबाट ४७, अफगानिस्तानबाट १७, बंगलादेशबाट ५, इंग्ल्यान्डबाट २४, आयरल्यान्डबाट ५, न्युजिल्यान्डबाट २४, दक्षिण अफ्रिकाबाट ३३, श्रीलंकाबाट २३, वेस्टइन्डिजबाट ३४ र जिम्बावेबाट १ खेलाडी अक्सनमा सहभागी हुनेछन् । नामिबियाबाट ३, स्कटल्यान्डबाट २, नेपाल र अमेरिकाबाट १-१ खेलाडी छन् ।

१० टोलीले रिटेन मार्फत ३३ खेलाडी टोलीमा अनुबन्ध गरि सकेका छन् । आइपिएल अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा हुने छ। यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागीता रहने छ । एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउनेछन् । जसमा ८ विदेशी खेलाडी हुने छन् । १० विदेशी खेलाडी रिटेन भई सकेको अवस्थामा अव ७० विदेशी खेलाडी आइपिएल अक्सनमा विक्नेछन् ।

सन्दीपलाई २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यस सिजनमा दिल्ली लिगबाट बाहिरिएपछि अन्तिम तीन खेल खेल्दै ५ विकेट लिएका थिए ।

२०१९ मा दिल्लीले ६ खेलमा मौका दिँदा सन्दीपले ८ विकेट लिएका थिए । २०२० मा भने सन्दीपले मौका पाएनन् । २०२१ मा भने सन्दीपले आफ्नो अक्सनमा मूल्य ४० लाख भारु राखेपनि कुनैपनि टोलीले मूल्य लगाएका थिएनन् ।