एपीएफले जित्यो प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पा¥यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । ३६ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको उसको पारी कप्तान दीपेन्द्र सिंह ऐरीले सम्हाल्ने प्रयास गरे । उनले चौथो विकेटका लागि आरिफ शेखसँग ३७ रनको साझेदारी गरे । पाँचौं विकेटका लागि दीलिप नाथसँग ५६ रनको साझेदारी गरे । तर अरु ब्याट्सम्यान चल्न सकेनन् ।

अन्तिम ओभरमा आउट भएका दीपेन्द्रले ५४ बलमा ३ चौका र २ छक्काको मदतमा ६५ रन बनाए । दीलपनाथले २३, आरिफ शेखले १२ र अनिलकुमार साहले १० रन बनाए । अरुले दोहोरो अंक नै जोड्न सकेनन् ।

एपीएफका अविनाश बोहरा र किशोर महतोले डेथ ओभरमा उत्कृष्ट बलिङ गर्दै पुलिसलाई लक्ष्यसम्म पुग्बाट रोके । महतोले ३ विकेट लिए । अविनाश बोहरा, दिपक बोहरा र अमर रौटेलाले एक÷एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफको पनि सुरुआत खराब थियो । ८१ रन जोड्दा ६ विकेट गुमाइसकेको उसको पारी तल्लो क्रमका ब्याट्सम्यानले सम्हाले र १९.५ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो । कप्तान सरद भेषावकरले १९ रन बनाउँदा भुवन कार्कीले १७ रन जोडे । नवौं नम्बरमा ब्याटिङ गर्न आएका अमर रौतेलाले १५ बलमा २ चौका र ३ छक्का प्रहार गरेर सर्वाधिक २९ रन बनाए ।

त्यसअघि लोकेश बमले १५ मा २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाएका थिए ।