टाइगर कप : पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । यो जितसँगै आर्मीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा पोखरा रंगशालाको भलिबल कोर्टमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो । पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले त्यसपछिको ३ सेट २५–१८,२५–२१ र २५–१३ ले आफ्नो पक्षमा पार्दै फाइन यात्रा तय गर्यो ।

आर्मीले ४ खेलमा ९ अंक जोड्यो । ३ खेलमा ३ अंक जोडेको पुलिसको भने फाइनल सम्भावना समाप्त भएको छ । पुलिसले आफ्नो अन्तिम खेल न्यु डायमन्ड स्पोटर््स क्लबसँग खेल्नेछ ।

Advertisement