प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ माथि लुम्बिनीको ४२ रनको जित

काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताम प्रदेश २ माथि सानदार जित हात पारेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनी प्रदेशले प्रदेश २ लाई ४२ रनले हराएको हो।

Advertisement

१ सय ६२ रनको बलियो विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन बनायो। प्रदेश २ का विवेक यादव सर्वाधिक ३६ रनमा अविजित रहे। उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए।

बलिङ गर्नेक्रममा घाइते भएपछि विवेक अस्पताल गएका थिए। फर्किएर १०औं नम्बरमा ब्याटिङ गर्दै आक्रामक इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन्।

यता, हरिकृष्ण झा र सन्तोष कार्कीले समान १४–१४ रन बनाए। लुम्बिनीका अनिल खरेलले सर्वाधिक ५ विकेट हात पारे। खरेलले ४ ओभर बलिङ गर्दा एक मेडन ओभर फाल्दै मात्र १३ रन खर्चिएका थिए। कृष्ण कार्की, सिद्धान्त शाही र बशिर अहमदले १–१ विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो। लुम्बिनीका ओपनर देव खनाले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ३८ बलमा दुई छक्का र चार चौका प्रहार गरे।

यता, वासिर अहमद र सन्दीप रजालले समान ३० रन बनाउँदा सुशान्त थापाले १४ रनको योगदान दिए। प्रदेश २ का विवेक यादव र रुपेश सिंहले २–२ विकेट लिए । हरिशंकर साह, महबुब आलम र विशाल शुश्लिङले १–१ विकेट लिए।