‘ए’ डिभिजन लिगमा आज मछिन्द्र र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार आज एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आइतबार एक मात्र हुने खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

पुलिस र मछिन्द्रबीचको खेल पौने ५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि यस खेल महत्वपूर्ण रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ ।

मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ । यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन ।

पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।