फाइनलमा हंगकंग सहजै पराजित, नेपाल यु-१९ एसिया कप खेल्न छनौट

हंगकंगलाई सहजै पराजित गर्दै नेपाल अगस्ट २८ देखि श्रीलंकामा आयोजना हुने अन्डर -१९ एसिया कप खेल्न छनौट भएको छ। प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो।

Advertisement

किनरारा ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको हंगकंगले पहिले ब्याटिंग गर्दै मात्र ९६ रनको लक्ष्य दिएको थियो। ९७ रनको लक्ष्य नेपालले सहजै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर पवन सर्राफ र रित गौतमले ५२ रनको साझेदारी गरेका थिए। रित सातौँ ओभरमा १३ रन बनाएर आउट भए। त्यसपछि पवन र खडक बोहराले इनिंगलाई अघि बढाए।

खेलको १२ औं ओभरमा पवन व्यक्तिगत ३९ रन जोड्दै आउटहुँदा नेपालले ७६ रन जोडेको थियो। पवनको विकेट लगत्तै खडक समेत पभेलियन फर्किए। उनले व्यक्तिगत ८ रनको योगदान गरे।

नेपालले खेल जित्न ३ रन बाँकी रहंदा कप्तान रोहित पौडेलको समेत विकेट गुमायो। व्यक्तिगत १२ रन जोडेका रोहित ठूलो सट प्रहार गर्दै खेल सकाउने चक्करमा क्याच आउट भए। रोहित पभेलियन फर्किए पश्चात भिम शार्की ( ८ *) र हरि चौहान ( ०*) ले नेपाललाई जितसम्म पुर्याए।