नेपाल मलेसियासँग २२ले पराजित

काठमाडौं। उपाधी जित्ने लक्ष्यसहित थाइल्यान्ड पुगेको नेपाली टिम एसिसी इस्टर्न रिजन टि–२० प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । बैंककस्थित ट्रेडथाई रंगशालामा शनिबार भएको खेलमा ब्याट्सम्यानले खराब प्रदर्शन गरेपछि नेपाल मलेसियासँग २२ रनले पराजित भयो ।

Advertisement

पहिला ब्याटिङ गर्दै मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८ रन बनाउँदा पवन सर्राफले १९ रन बनाए ।

यी तीनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । सदाजस्तै नेपालले सुखद् ओपनिङ गर्न सकेन । पहिलोपटक ओपनिङमा आएका युवा ब्याट्सम्यान कुशल मल्ल दुई बल खेल्दै शुन्य रनमै पभेलियन फर्किए । यस्तै पारस खड्का पनि नौं रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

त्यसपछि ज्ञानेन्द्र र दीपेन्द्रले इनिङ सम्हाल्दै नेपाल जिततर्फ अग्रसर गाएका थिए । यी दुईले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरे । तर, ज्ञानेन्द्र १३औं ओभरको पाचौं बलमा सर्विन मुनियन्डीको बलमा आउट भएपछि नेपालको विकेट पतनको शृंखला पुनः सुरु भयो ।

क्रिजमा टिकेका दीपेन्द्र पनि आउट पछि नेपाल झनै दबाबमा प¥यो । त्यसपछि पवन, आरिफ सेख, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने र सुशन भारीलागतार आउट भए । मलेसियालाई सानदार जित दिलाउने क्रममा मुनियन्डीले ३.५ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए । यस्तै, खिजर हायत, पवनदीप सिंह, सैजुल इजानले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले ६ विकेटको क्षतिमा १५४ रन बनायो । मलेसियाको सुरुवात भने राम्रो हुन सकेन । सुरुवातमै सन्दीपले २ विकेट लिएपछि मलेसिया दबाबमा परेको थियो । तर, मलेसियाका पुछारका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै चुनौतिपूर्ण योगफल बनाए ।

मलेसियाका लािग सेयद अजिजले अर्धशतकीय इनिङ खेले । उनले ३५ बल खेल्दै ४ चौका र २ छक्काको सहयोगमा नटआउट ५१ रन बनाए । यस्तै, अनवर अरुद्दीनले ३१अहमद फैजले ३० र अमिनुद्दीय रम्लीले २९ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । यस्तै अविनास बोहराले २ विकेट लिए भने करण केसीले १ विकेट लिए । नेपाललाई सन्दीपले आफ्नो पहिलो ओभरमै २ विकेट लिँदै सफल सुरुवात दिलाएका थिए । तर, नेपाली बलरले अन्त्यसम्म सोही लय समाउन सकेनन् ।

सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बलमा मलेसियाका ओपनर वीरन्दीप सिंहलाई पवन सर्राफबाट क्याच आउट गराउँदै आफ्नो टि–२० करिअरको एक सय विकेट पुरा गरेका थिए । सन्दीपले खिजर हायत र मोहम्मद अनवर अरुद्दीनलाई पवनबाटै क्याच आउट गराएका थिए ।