May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पिएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हरायो

काठमाडौं। ब्राजिलियन स्टार स्ट्राइक नेमारले रेडकार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पुनरागमन जित निकालेको छ । लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो ।

Advertisement

लिग लिडर पिएसजीले पछिल्लो साता एमिन्ससँग ४–४ गोलको बराबरी खेलेको थियो । त्यस्तै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा बोरुसिया डर्टमण्डसँग २–१ ले हारेको थियो ।

पिएसजीको जितमा मार्किन्होसले दुई तथा ईडिन्सन काभानी र केलियन एम्बाप्पेले एक एक गोल गरे । बोर्डोका ह्वाङ वि जोले सुरुवातमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । यस्तै क्लबका लागि नाससिमेन्टो डी कास्ट्रो र रुबिन पाड्रोले एक एक गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी सययमा नेमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनले शनिबार घरेलु मैदानमा डिजोनबिरुद्ध हुने खेल गुमाउनेछन् ।

जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता कायम गरेको छ । शीर्ष स्थानको पीएसजीको ६५ अंक छ । बोर्डो ३५ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।