May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, पहिला ठूलो मान्छे समाउ : चन्द्र भण्डारी

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार आएपछि ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार काण्ड बाहिर ल्याएको स्पष्ट पारे । उनले भने,‘यो सरकार आएपछि म भ्रष्टाचार गर्दिन् र हुन दिन्न भनिएको छ, यो प्रकरणले गर्दा भ्रष्टाचारीमाथि आज एउटा प्रक्रिया सुरु भएको छ ।’

Advertisement

बिहीबार रिपोर्टर्स क्लब नेपालले ललिता निवासको सरकारी जग्गालाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकार आएपछि यो प्रकरणको छानबिन अघि बढेको स्पष्ट पारेका हुन् । उनले भने,‘अख्तियारले अहिले मुद्दा दायर गरेको छ ।’ उनले यो प्रकरणमा मुछिएका केही व्यक्तिहरुको उन्मुक्तिको विषयमा प्रश्न उठेकोबारे टिप्पणी गर्दै उनले भने,‘समानान्तर रुपमा यो प्रकरणमा तीन वटा निकायले छानबिन गरिरहेको छ । पहिलो अख्तियार, दोस्रो सिआईबी र अर्को भनेको अकुत सम्पत्तिमा पनि छानबिन भैरहेको छ । अहिलेसम्म दुई वटा निकायको प्रतिवेदन बाहिर आएको छ । सिआईबीको रिपोर्ट छिट्टै आउँदैछ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै अख्तियारलाई यो कदममा साथ दिनुपर्ने बताए । उनले भने,‘अख्तियारलाई अझै शक्तिशाली बनाउनुपर्छ । अिहले जुन कदम चालेको छ। यो स्वागतयोग्य छ । हाम्रो समर्थन हुनुपर्छ ।’ उनले बालुवाटार जग्गा प्रकरणमा तीन तहबाट छानबिन तथा अनुशन्धान भैरहेको सुनाए । उनले भने,‘अख्तियार, सिआईबी र सम्पत्ति शुद्धिकरणबाट छानबिन भैरहेको छ । अख्तियारले अहिले मुद्दा दर्ता गरेको छ । सिआईबीले पनि कारबाही अघि बढाउला, यो प्रकरणमा जो जो व्यक्तिमाथि मुद्दा चलाईएको छ, यसमा अहिले नै उन्मुक्ति दिन खोजियो भन्नु हतार हुन्छ ।’

तामाङले यो प्रकरणमा अन्य निकायबाट पनि छानबिन भैरहेकोले अहिले नै कसैलाई उन्मुक्ति दिन खोजियो भनेर निक्र्यौल गर्नु हतार हुने तर्क गरेका हुन् । सबै निकायबाट रिपोर्ट आएपछिमात्रै कसले उन्मुक्ति पाउने हो ? कसले नपाउने हो भन्ने कुराको निक्र्यौल हुने तर्क गरे । उनले भने,‘हिजोमात्रै मुद्दा दर्ता भएको छ, आजै फलानोलाई उन्मुक्ति दिईयो भन्नु चाँडो हुन्छ ।’

यो प्रकरणमा अख्तियारकै पूर्व आयुक्तपनि मुछिएको सुनाउँदै भने,‘अख्तियारकै पूर्व प्रमुख आयुक्त यो प्रकरणमा मुछिनु र मुद्दा दर्ता हुनु भनेको मुलुकको लागि पनि सकारात्मक सन्देश हो । मलाई एकदमै गर्व लागेको छ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’ उनले आफू कानूनमन्त्री हुँदा सम्पत्ति सार्वजनिक गर्नुपर्छ भनेर आवाज उठाएको र कानून बनाउने पहल गरेको स्मरण गराए । उनले भने,‘सबैको सम्पत्ति छानबिन हुनुपर्छ, यदि अकुत देखियो भने कारबाही गर्नुपर्छ ।’

बालुवाटार प्रकरणमात्रै नभएर वाईडबडी, न्यारो बडीलगायत थुप्रै काण्डमा पनि कारबाही प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाई छ । उनले जनताको अदालतमा कसैले पनि उन्मुक्ति नपाउने तर्क गरे । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विजय कुमार गच्छदारमाथि मुद्दा चलाईएको विरोधमा संसद अवरोध गरेकोमा आपत्ति जनाए ।

नेपाल सरकारका पूर्व सचिव तथा ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालका अध्यक्ष खेमराज रेग्मीले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले दोषीहरुमाथि विशेष अदालतमा मुद्दा दायर गरेकोमा खुशी व्यक्त गरेका छन् ।

अध्यक्ष रेग्मीले यस्तो बताएका हुन् । उनले भने,‘अख्तियारले हिजो जुन ललिता निवासको जग्गा प्रकरणमा मुद्दा दर्ता गरायो, यो राम्रो काम हो । हामी आयोगलाई धन्यवाद दिन्छौं ।’ उनले नेपालमा पेटी (प्रशासनभित्र) र ठूला भ्रष्टाचार हुने गरेको सुनाए । उनले भने,‘ठूला अर्थात ग्राण्ड भ्रष्टाचारलाई नीतिगत र पोलिटिसियन करप्सनको रुपमा पनि लिईन्छ । यसको लागि राजनीतिज्ञ, व्यवसायिक घराना र निजामती कर्मचारीका उच्चपदस्थ कर्मचारीहरुको मिलोमतो हुन्छ । बालुवाटार जग्गा प्रकरणमा पनि त्यही भएको हो ।’

उनले ललिता निवासको सरकारी जग्गा प्रकरणमा पनि तीनै तहको मिलोमतो देखिएको सुनाए । उनले भने,‘यो नेपालको ईतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड हो । अख्तियारले यो प्रकरणमा जोडिएका सबैलाई मुद्दा दायर गरेको छ । आयोगको यो साहसिक कार्य हो । म धन्यवाद दिन चाहन्छु ।’ अख्तियारले धेरै लामो समयपछि ठूलो कारबाही अघि बढाएको उनको तर्क छ । तर, आयोगलाई यो प्रकरणमा नेपाल सरकारले पूर्ण साथ र सहयोग गरेको पनि उनले सनुाए । उनले भने,‘नेपाल सरकार खासगरी सरकारको नेतृत्वमा रहेका व्यक्तिको ईनिएसिएनले गर्दा अख्तियार यो निक्र्यौलमा पुगेको हो । म नेपाल सरकारलाई समेत धन्यवाद दिन चाहन्छु ।’

नेपालमा राजनीतिक तहको भ्रष्टाचार बढेको भनेर आफूहरुको संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपालले निश्कर्ष निकालेको पनि उनको टिप्पणी छ । ‘राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण नगरेसम्म प्रशासन तहमा हुने भ्रष्टाचार नियन्त्रण हुँदैन्’–उनले भने । उनले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनको लागि जो–जो ले प्रपञ्च रचेका थिए, प्रायः ती सबैमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको उनको भनाई छ । तर, नेपाल सरकार र अख्तियारसँग आफूहरुको गुनासो रहेको पनि उनले सुनाए ।

‘हामीले पनि नेपाल सरकार र अख्तियारसँग गुनासो गरेका थियौं, खाली प्रशासनिक तहमा मात्रै कारबाही गर्ने ? राजनीतिक नेतृत्व तहसम्म नपुग्ने ? अथवा उनीहरुलाई पन्छाएर कारबाही गर्ने भन्ने कुराहरु भैराखेको थियो, केही हदसम्म अख्तियारले हामीलाई यो प्रकरणमा चित्त बुझाएको छ । विगतका मन्त्रीहरु त्यसमा संलग्न भएकाहरु परेका छन् ।’–अध्यक्ष रेग्मीले थपे ।

यद्धपी आफूहरुको अझै गुनासो रहेको उनको भनाई छ । रेग्मीले भने,‘जुन तत्कालिन अवस्थाका (ट्रान्सपरेन्सीले) कसैको नामपनि भन्दैन्, तपाईहरु आफैंले गर्ने कुरा हो । तत्कालिन प्रधानमन्त्रीको चाहीँ नेतृत्वमा यो जग्गा प्रकरण व्यक्तिकहाँ पुग्ने भ्रष्टाचार हुने अवस्था मिलेको कुरा कहीँबाट पनि छिपेको छैन् । तर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तत्कालिन प्रधानमन्त्रीलाई यो चाहीँ मन्त्रिपरिषदको नीतिगत निर्णय भएको हुनाले हामी त्यसमा प्रवेश गर्न मिलेन ? भनेर उहाँहरुलाई कारबाही नगर्नुबाट चाहीँ यो बास्तवमा सरासर गलत छ ।’

अख्तियारको ऐनमा समेत स्पष्ट रुपमा भनिएको कुरा उल्लेख गर्दै रेग्मीले सुनाए,‘मन्त्रिपरिषदले गरेका नीतिगत निर्णयमा आयोग प्रवेश गर्न नपाउने हो, तर मन्त्रिपरिषदले गरेका सबै निर्णयहरुमा प्रवेश गर्न नपाउने भन्ने कुरा होईन् । त्यसो हुँदा जहासम्म तत्कालिन प्रधानमन्त्रीले बालुवाटारको जग्गा प्रकरणमा सम्बन्धित सचिवहरु लगायत मुख्यसचिवसमेतलाई राखेर जसरी पनि यो चाहीँ मोहीलाई जग्गा दिने लगायतका सरकारी जग्गा शोधभर्ना दिनेगरि निर्देशन भयो, यसरी बालुवाटारको जग्गा काण्ड रचिएको छ । यस मामिलामा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिनु कुनैपनि कारणबाट उचित छ भन्ने देखिँदैन् ।’

यो प्रकरणमा केही व्यक्तिहरुलाई उनीहरुले त्यहाँ लिएको जग्गा फिर्ता गर्ने शर्तमा उनीहरुलाई पनि मुद्दा नचलाई उन्मुक्ति दिईएकोमा उनले आपत्ति जनाए । रेग्मीले भने,‘यहाँमा पनि सरासर गलत देखिएको छ । उनले भने,‘कुनैपनि व्यक्तिले चोरीको सामान जानाजान किनेको छ भने पनि त्यो चोरलाई कुनैपनि हालतमा उन्मुक्ति दिन मिल्दैन् । यदि यो जग्गा ज–जसले किनेका हुन, उनीहरु त्यसमा अन्जान थिए, उनीहरुलाई त्यो बारेमा केही थाहै थिएन भन्ने कुराको चित्तबुझ्दो जवाफ अख्तियारले दिनुसक्नुपर्ने हुन्छ । अन्यथा, कुनैपनि व्यक्तिहरुलाई बद्मासी गरेर, भ्रष्टाचार गरेर अनियमितता तवरले सरकारी जग्गा हडप्ने र पछि कारबाही हुने भएपछि जग्गा फिर्ता गर्छु भन्ने कुरा कानूनसम्मत हुँदैन् । समानताको दृष्टिकोणले पनि यो चाहीँ जायज हुँदैन् ।’

उनले आफूहरुले अख्तियारले यतिका मन्त्रीहरु, संवैधानिक अंगमा बसेर काम गरिसकोहरुलाई र सचिवहरुलाई कारबाही अघि बढाउला भनेर आशा नगरेको पनि सुनाए । तर, आयोगले सबैमाथि मुद्दा चलाएकोमा खुशी व्यक्त गरे । उनले भने,‘अख्तियारलाई प्रोत्साहन गर्नुपर्छ । आगामी दिनमा यसले निर्भिकतासाथ काम गरोस् । अहिले जुन कदम चालेको छ, यसलाई साहसिक कदमको रुपमा लिनुपर्छ । उसले आफ्ना कमिकमजोरी सुधार गर्नुपर्छ ।’

कार्यक्रममा बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा अख्तियारले यो प्रकरणमा संलग्नहरुमाथि मुद्दा दायर गरेर राम्रो काम गरेको टिप्पणी गरे । उनले यो प्रकरणलाई नेपालको ईतिहासमै ठूलो भ्रष्टाचार काण्डको संज्ञा दिए । उनले भने,‘नेपालमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व नैतिक रुपमै भ्रष्टाचारको जालोमा मुछिएका छन् भन्ने कुरा यो प्रकरणले छर्लङ पारेको छ ।’

त्रिपाठीले राष्ट्रिय सम्पत्ति कसरी व्यक्तिको नाममा हस्तान्तरण भएको रैछ ? भन्ने कुरा पनि यो प्रकरणबाट खतरानक प्रमाण जुटेको दाबी गरे । उनले भने,‘अख्तियार भनेको हाई पावर कमिसन हो, यसको अनुशन्धानमा बदनियत देखियो । केही व्यक्तिलाई जानी बुझिकन उम्काउने काम भएको छ, समानताको हकको कुरा पनि ख्याल गरेको छैन् । समान रुपमा अपराध गर्नेलाई दण्डपनि समान नै हुनुपर्छ । सत्तारुढ दलको शक्तिशाली सदस्य भयो भन्दैमा उन्मुक्ति दिन पाईँदैन् ।’

उनले अख्तियारले हाँस्यस्पद काम गरेको पनि टिप्पणी गरे । उनले भने,‘कसैले भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति फिर्ता गर्छु भनेकै आधारमा उसलाई मुद्दा नलगाउनु गलत हो । यस्तो घट्ना विश्वको कहीँ पनि भएको छैन् । यसले त गलत नजिर बसालेको छ । भोलि कसैले डोरी वा डकैती गर्छ अनि उसले मैले चोरेको कुरा फिर्ता गर्छु भनेर बोल्यो भने कि कारबाही नगर्ने ? मैले भ्रष्टाचार गरेको थिएँ, तर म अब त्यो सम्पत्ति फिर्ता गर्छु भनेकै भरमा कारबाही गरिएन भने भोलि कसैमाथि पनि मुद्दा चल्दैन् ।’ उनले अख्तियारलाई राजनीतिक हतियार बनाउन नहुनेतर्फ पनि सचेत गराए । उनले अख्तियारले त मुद्दाको तहसम्म पुगेर अनुशन्धान गर्नुपर्ने उनको धारणा छ ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको नाम नै नलिईकन प्रश्न गरे,‘सत्तारुढ दलको शक्तिशाली सदस्य भएको नाताले कसैलाई उन्मुक्ति दिन मिल्छ ? कदापि पनि उन्मुक्ति पाउनुहुँदैन् । यो प्रकरणमा सबै दोषीहरु समान रुपमा दण्डित हुनुपर्छ । के यो सरकारलाई नीतिगत भ्रष्टाचार गर्ने लाईसेन्स प्राप्त छ ?’ उनले मन्त्रिपरिषदले बदनियतपूर्ण निर्णय गरेको वा भ्रष्टाचार गरेको विषयमा छानबिनको विषय हुने उनले सुनाए । उनले भने,‘त्यतिवेलाको मन्त्रिपरिषदले राज्यको जग्गा व्यक्तिलाई दिने निर्णय गर्नु नीतिगत निर्णय थिएन, यो त कार्यकारी निर्णय थियो ।’ उनले भारत र दक्षिण कोरियामा शक्तिशाली तत्कालिन राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत मुद्दा चलाईएको र कोरियाका राष्ट्रपतलिाई त जेल हालिएको घट्ना स्मरण गराए ।

उनले अख्तियारले बालुवाटार जग्गा प्रकरणमा ‘पिक एण्ड चुज’ को नीति लिएर मुद्दा दर्ता गराएको आरोप लगाए । उनले भने,‘यो प्रकरणमा वस्तुगत छानबिन हुनुपर्दथ्यो । यो प्रकरणले पनि नेपालको राज्य प्रणाली कति सढेको रैछ ? कति बिग्रिएको छ भन्ने कुरा देखाएको छ । शक्तिमा बस्नेहरु देश र जनताप्रति जवाफदेही हुनुपर्छ । अख्तियारलाई हाई–ज्याक गर्न मिल्दैन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाससद डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट पारेका छन् । उनले भने,‘कानूनको नजरमा सबै समान हुनुपर्यो । नेपालमा अहिले पोलिसी, पोलिटिकल र डेभलेपमेन्टमा भ्रष्टाचार छ । जबसम्म राजनीतिक भ्रष्टाचार नियन्त्रण हुँदैन् । तबसम्म अरु भ्रष्टार रोकिँदैन् ।’

उनले पाकिस्ताका प्रधानमन्त्री ईमरान खनाले केही दिनअघिमात्रै पत्रकार सम्मेलन गरेर देशमा भएको ठूला–ठूला भ्रष्टाचारको बारेमा बोलेको सुनाए । उनले भने,‘भ्रष्टाचारले आक्रान्त बनाएपछि देशले कहिल्यैपनि विकास गर्दैन् । हाम्रो देश विश्वकै सबैभन्दा राम्रो देश हो, प्राकृतिक रुपमा पनि हामी धनी छौं । नेपाल शिक्षा र मेडिकलमा पनि हब हो । योगमाया र वीर गोरखालीको देश हो ।’ उनले नेपालमा नेताहरु नेताको अर्थ नै नुबझिकन राजनीतिमा लागेको पनि तर्क गरे ।

‘नेताहरु दरबार बनाउन लागे, आफू र आफ्नालाई कसरी सम्पन्न बनाउने भन्नेमै यस्तो देखियो ।’–उनले भने,‘हाम्रा देशका प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु भनेको माग्ने देशका ठूला नेताको रुपमा परिचित छन् ।’ नेपाल विकास नहुनु भनेको बाधक नै भ्रष्टाचार भएको उनको टिप्पणी छ । नेपालमा ठूलाहरु बच्ने र सानाहरु मर्ने अवस्था रहेको दुरावास्था पनि भण्डारीले सेयर गरे ।

देशमा भएका संस्थाहरु बलिया भए भनेमात्रै देश बलियो हुने उनको तर्क छ । तर, नेपाल त पछिल्लो समय असफल राष्ट्रको रुपमा दर्ज हुन लागेको उनको गुनासो छ। उनले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्दा विभेद गरेको आरोप लगाए । उनले बालुवाटारको ललिता निवास प्रकरणमात्रै नभएर नेपालमा वाईडबडी, बुढीगण्डकी लगायत धेरैमा भ्रष्टाचार भएको टिप्पणी गरे । उनले नेपालमा भ्रष्टाचार वा गल्ती गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने तर्क गरे ।

उनले अहिलेसम्म अख्तियारले तलकालाई मात्रै कारबाही गरिएको गुनासो पोखे । उनले भने,‘हिम्मत भए सिंहदरबारबाट कारबाही सुरु गर्नुपर्छ ।’ उनले आफूले त नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाएको पनि सुनाए । उनले भने,‘नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्छ, पारदर्शी बनाउनुपर्छ ।’ उनले यो प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदार मुछिएको विषयमा पार्टीले लिएको पछिल्लो निर्णय आफूलाई मान्य भएको बताए ।

उनले भने,‘विजय गच्छदारलाई कारबाही हुँदा त्यहाँ सँगै बसेकाहरुलाई पनि कारबाही हुनुपर्यो नि । निर्णय गर्ने फस्ट मेनलाई छुँदै नछुने, दाजुसित सक्दैन अनि भाउजुसँग कुँईकुँई गरेर न्याय हुन्छ ? पहिला ठूलो मान्छे समाउ न ।’

कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।

‘जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ रिपोर्टर्स क्लब नेपालमा आज डा. केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।’ गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे ।

विजयकुमार गच्छेदार पटक पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, गच्छेदार भ्रष्टाछार हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।

नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए । प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गरे । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’

उनले नेपाल नै भ्रष्ट मुलुक भएको टिप्पणी गरे । उनले भने,‘आलम काण्डदेखि शेरबहादुर तामाङसम्मको काण्ड हेर्दा विभेदित श्रृंखला देखिएको छ । आलमलाई त्यही पुर्याउनेहरु किन मुछिएनन् ? यो विभेद हो ।’ उनले लोकमानसिंह कार्कीलाई लखेटेर दिप बस्न्यातलाई किन ल्याईयो ? भन्ने कुरा अहिले आएर थाहा भएको उनको भनाई छ ।

नेपालमा पद किनेर पाईने पनि उनको भनाई छ । उनले भने,‘कांग्रेसका एक जना साथीले ३० लाख बुझाएर म मन्त्री भएँ भनेर मसँग भने ।’ उनले विजयकुमार गच्छदारजति भ्रष्टाचारी कोही पनि छैन भन्ने कुरा नेपाली जनता सबैलाई थाहा भएको सुनाए । तर, उनलाई बालुवाटार प्रकरणमै किन मुछियो ? भन्ने कतै कांग्रेसभित्रकै आन्तरिक राजनीति त कारण होईन भनेर प्रश्न गरे । उनले बालुवाटार खानेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । उनले नेपालमा अख्तियारले अघि बढाएका मुद्दाहरु ९० प्रतिशत असफल भएको तर्क गरे । उनले भने,‘यस्तो अवस्थामा हामी हौसिनुको कतिको उचित हुन्छ ?’