फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाही हुने

काठमाडौं माघ २१ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न उल्लेख गरिएको पत्र जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको छ। सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय कुमार पौडेलको फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाहीको प्रकृया अघिबढाउन गृहमन्त्रालयले आइतवार प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्दै निर्देशन दिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगले हत्यामा संलग्न प्रहरीको नामै तोकेर कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न निर्देशन दिएको थियो।पौडेललाई फेक इन्काउन्टरमा मारेको जनाउँदै आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णप्रसाद साह र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी मुद्दा चलाउन निर्देशन दिएको थियो।त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र नायब निरीक्षक सूर्यकुमार कार्कीलाई सचेत गराउन निर्देशन दिएको थियो।प्रहरी प्रधान कार्यालयमा रहेको विशेष ब्युरोको टोलीले उनलाई ९ राउन्ड गोली हानेको थियो। उनको मृत्युबारे सुरु मै विवाद भए पनि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न जाँदा प्रहरीमाथि गोली प्रहार भएकाले सुरक्षाका लागि जवाफी फायर गर्दा पौडेल मारिएको दाबी गरेको थियो।गत असार ५ गते लालबन्दी नगरपालिका–१ लखनदेवीस्थित जंगलमा विप्लव नेतृत्वको पार्टीका सर्लाही इन्चार्ज पौडेल प्रहरीको गोली लागेर मारिएका बताईएको छ।

Advertisement