एमसीसीको सकसः प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि संसदबाट विशेष प्रस्ताव पारित गर्ने उपाय खोजिँदै

काठमाडौं । एमसीसीका कारण सत्ता गठबन्धन भत्किन नदिन शीर्ष नेताबीच सहमति भएको छ । बुधबार बिहान र बेलुका दुईपटक प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मध्यमार्गी उपाय सुझाइएको छ ।

Advertisement

सो मध्यमार्गी उपायलाई दस्तावेजीकरण गर्ने जिम्मा कानून मन्त्रालयले पाएको छ । प्रचण्ड-माधवको ‘फेस सेभ’का लागि एमसीसी अनुमोदनअघि संसदबाट नेपालको ‘एकतर्फी घोषणा’ पारित गर्ने गरी त्यसको मस्यौदाबारे कानून मन्त्री दिलेन्द्र बडूले मन्त्रालयका उच्च अधिकारीसँग सामान्य छलफल यसअघि नै गरिसकेका छन् ।

तत्कालीन नेकपाको विवादका बेला केपी ओलीविरुद्धको अस्त्र बनाइएको एमसीसी अहिले आएर सोही विवादका एक पक्ष प्रचण्ड-माधवलाई घाँडो भएपछि देउवाले घाँडो पन्छाउन संसदबाट ‘रिजोलुसन’ पास गर्ने उपाय खोजेको कांग्रेस नेताहरुले बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले शीर्ष बैठकमै एमसीसी वा गठबन्धन एक रोज्न प्रचण्ड-माधवलाई चेतावनी नै दिएका थिए । त्यसयता एमसीसीलाई लिएर सभामुख अग्नि सापकोटा तथा माओवादी र नेकपा एसका नेताहरूले मिडियामा ‘स्टन्टबाजी’ गरेपछि पौडेलमात्र होइन देउवासमेत रुष्ट भएका थिए ।

यद्यपि गठबन्धन टुट्न नदिन प्रधानमन्त्री सचेत रहेकाले नै मध्यमार्गी उपाय खोजिएको हो । यसअघि तत्कालीन केपी ओली सरकारकै पालमा एमसीसीका नेपालको संविधान कानूनसँग बाझिने प्रावधान स्वतः खारेज हुने तथा हिन्द प्रशान्त रणनीतिको अंग नहुने शर्तमा नेपालले स्वीकार गर्ने भनेर संसदबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प सुझाइएको थियो ।

‘त्यसबेला नेकपाको ‘प्रोक्सी वार’मा एमसीसीलाई हतियार बनाउन खोज्दा यो अझ गिजोलिएको हो । अहिले आएर एमाले तथा तत्कालीन प्रधानमन्त्री केपी ओली विपक्षमा छन् भने त्यसबेला ‘प्रोक्सी वार’खेल्नेहरु सत्तामा छन्’ कांग्रेसका एक प्रभावशाली मन्त्रीले भने ‘उनीहरूले हिजो एमसीसीबारे जुन भ्रम फैलाए आज त्यसको शिकार आफैं बन्ने भएकाले फेस सेभ खोजिरहेका छन्’ ।

त्यही फेस सेभकै लागि यसअघि भदौमै गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माले संकल्प प्रस्तावको मस्यौदामाथि सामान्य छलफलसमेत चलाएका थिए । यसपटक संकल्प प्रस्ताव वा सार्वजनिक महत्वको प्रस्ताव नभनी अर्कै नाम राखेर नेपालको तर्फबाट एकतर्फी घोषणा संसदबाट पारित गरेपछि एमसीसी अनुमोदन गर्ने समझदारी शीर्ष तहमा भएको छ ।

बुधबार साँझको सहमतिअनुसार सो एकतर्फी घोषणाको मस्यौदा हुँदैछ । अमेरिकाले भदौमा समेत एमसीसीको तर्फबाट नेपाललाई जवाफ दिइसकेकाले थप संशोधन गर्न नमानेपछि फेस सेभका लागि ओली प्रधानमन्त्री भएको बेला संकल्प प्रस्तावमा राख्ने भनिएकै विषय समेटेर मस्यौदा बन्न लागेको हो ।

संकल्प प्रस्ताव भन्ने वा एकतर्फी घोषणा भन्ने नाम भने टुंगो नभएको कानून मन्त्रालय स्रोतले जनाएको छ । सत्ता गठबन्धन टुट्न नदिन शीर्ष नेताबीच समझदारी भए पनि अरु विषय आफूले बुझ्न बाँकी रहेको परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन् ।

बालुवाटार स्रोतले भने एमसीसी पास गर्ने सन्दर्भमा प्याकेजमा केही विषयमा लिखित सहमति गर्ने विषयसमेत शीर्ष बैठकमा उठेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पासका सन्दर्भमा फेस सेभका उपायदेखि आउने तीनै तहका चुनावमा गठबन्धन गर्नेसम्मका तीन- चार बुँदाको प्याकेज प्रस्ताव राखेको स्रोतको भनाइ छ ।

बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड र माधव नेपाल दुवैजना एमसीसी पारित गर्दा आफ्नो जनमत झनै घट्ने र पार्टीभित्र मनाउनै नसक्ने त्रासमा हुनुहुन्छ । गठबन्धनबिना चुनाव एक्लै लड्ने आँट पनि उहाँहरूमा छैन त्यसैले मध्यमार्गी उपायस्वरूप कुनै प्रस्ताव संसदबाट पारित गर्ने र चुनावमा गठबन्धनको आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ ।’

यसको परिणाम आजभोलिमै निस्किने बताइएको छ । त्यसैले चुनावको मिति घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्नुपर्नेमा विहीबारको नियमित बैठक समेत बोलाइएको छैन ।