एमसीए–नेपालले भन्यो– एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ दस्ताबेज छैन

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै दस्ताबेज नलुकाइएको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर एमसीए नेपालले एमसीसीबारे सबै दस्ताबेज संस्थाको वेबसाइटमा रहेको र त्यहाँ उपलब्धबाहेक अरू कुनै गोप्य दस्ताबे नरहेको बताएको हो ।

Advertisement

“एमसीए–नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

एमसीए नेपालले गोप्य भनिएका कुनै पनि दस्ताबेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि विज्ञप्तिमा भनिएको छ ।

एमाले नेता भीम रावलले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसीसँग गोप्य सम्झौता गरेको दाबी गर्दै आएका छन् ।