मित्रपार्कमा झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ

काठमाडौं ।महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा झगडा हुँदा एकजना युवकको मृत्यु भएको छ । मृतकको उमेर करिब २७ वर्ष रहेको र उनको नाम नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा गएराति झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल छन् ।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आरोपीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । मदिरा सेवनपछि उनीहरुको बीचमा झगडा भएको थियो । पक्राउ गरिएका आरोपी सुरेश दर्नालले मृतकलाई नचिन्ने दाबी गरेका छन् ।

Advertisement