बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि अलमल

काठमाडौं । भेरोसेलको अभाव भएपछि सरकारले पहिले भेरोसेल लगाएकालाई पनि बुस्टर डोज खोपका रुपमा कोभिसिल्ड दिने निर्णय गरेपछि धेरै अलमलमा परेका छन् ।

Advertisement

सरकारले बुस्टर मात्रामा पहिले लगाएको खोप भन्दा फरक खोप दिने निर्णय गरेपछि केही अलमल देखिएको हो । तर स्वास्थ्य मन्त्रालयले ढुक्क भएर बुस्टर मात्राको खोप लगाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसका आधारमा सरकारले बुस्टर खोपको मात्रा फरक खोप दिने निर्णय गरेको हो । नेपालमा खोप कार्यक्रम सुरु भएपछि अहिलेसम्म भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका, जोनसोन एण्ड जोनसोन, मोडर्ना र फाइजर खोप प्रयोग भइरहेको छ ।

पहिलो र दोस्रो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएका ६० वर्षमाथिकालाई बुस्टरका रुपमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिइनेछ । कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै कम्पनी र एउटै सूत्रमा बनेको हो । पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रामा त्यही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन भनिएको छ ।

त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड/एस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनेका खोप प्रदान गर्ने निर्णय गरिएको हो ।