उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

 विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ को-उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति  एक अर्काको साथी रहेको खुलेको छ । अर्काे शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो ।

Advertisement

उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।

तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।

प्रहरी उपरीक्षक जिसीका अनुसार उनीहरु दुबै एकै समयमा सम्पर्कविहीन थिए । श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो । ‘दुवै जना सँग–सँगै रहेको देखिन्छ,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘व्यवसायीक साझेदार हुन् या होइनन् भन्ने खुलेको छैन ।’ धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय श्रेष्ठ र शम्भूनाथ नगरपालिका–४ का चौधरी जग्गा कारोबारमा संलग्न भएको प्रहरी स्रोत बताउँछ ।

गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ ।

गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्काे खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।

प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाइ छ ।