May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

महेश बस्नेत भन्छन- युथ फोर्स किसानले घरमा सिरानमुनि राखेको खुकुरी जस्तै हो

नेकपा एमालेले आफ्नो भ्रातृ संगठनको रूपमा युथ फोर्सलाई ब्युँताएको छ। शान्ति प्रक्रियामा आएपछि माओवादीको वाइसियलसङ्ग भिड्न महेश बस्नेतको नेतृत्वमा जन्माइएको नेकपा एमालेको भातृ संगठन युथ फोर्स ब्युँताइएको हो। नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्स ब्युँताएको बताइएको छ । आज काठमाण्डौमा बसेको युवा संघको बैठकले युथ फोर्स गठन गरेको हो ।

Advertisement

एमाले नेता तथा युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले युथ फोर्सलाई यसअघि नै खारेज गरिएको भए पनि पुनःगठन गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार, ‘युथ फोर्स किसानले घरमा सिरानमुनि राखेको खुकुरी जस्तै हो । अप्ठ्यारो पर्यो भने वा संकट पर्यो भने यसलाई फेरि निकालिनेछ । युथ फोर्स अहिले त्यसैगरी जन्मिएको छ ।’

“युथ फोर्स किसानले घरमा सिरानमुनि राखेको खुकुरी जस्तै हो । अप्ठ्यारो पर्यो भने वा संकट पर्यो भने यसलाई फेरि निकालिनेछ ।”‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने।

एमालेको अग्रपंक्तिमा रहेका नेतालाई सुरक्षा दिँदै युथ फोर्सले पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका खेल्ने बस्नेतले बताए।

उहाँले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकताअनुसारको प्रतिकारका लागि योजना बनाउनसमेत निर्देशन दिनुभएको छ । साइबर सेनासँग सहकार्य गर्दै एमालेविरुध्द भ्रम छर्नेहरुलाई उचित शिक्षा दिन उपयुक्त भूमिका निर्वाह गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजार वटा मोटरसाइकललले स्वागत गर्ने समेत बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसक्ने र पुनः नेकपा एमालेकै सरकार बन्ने दाबीसमेत गर्नुभएको छ ।

५ सय १ सदस्यीय युथ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखमा पुष्प श्रेष्ठलाई राखिएको छ ।