May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

एमिकस क्युरीबाट वैद्यको राय: ओलीलाई प्रधानमन्त्री बनाउनु नै असंवैधानिक, प्रतिनिधिसभाले ओलीलाई घर जाउ भनेको हो

प्रतिनिधि सभा विघटन मुद्दामा अदालतको सहयोगी (एमिकस क्युरी)का रूपमा बहस गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनाउनु नै संविधानसम्मत नभएको बताउदै प्रतिनिधिसभाले प्रधानमन्त्री ओलीलाई घर जाउ भनेको जिकिर गरेका छन।

Advertisement

संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वैद्यले भने –‘विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरि नयाँ अवतारको रुपमा प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले भनेको छैन, उहाँ (केपी ओली)लाई घर जाउ भनेको हो ।’ विश्वासको मत गुमाएपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यले जिकिर गरेका छन् । यसबारे अदालतले प्रश्न सोध्न पर्ने उनको सुझाव छ।

‘विश्वासको मत गुमाएको पिएमलाई त्यसपछि उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्न कसरी मिल्छ?’ उनले भने ,’ नियुक्ति गर्न मिल्ने गुन्जयइस हुन पर्‍यो नि संविधानको कुन धारा उपधारामा त्यसको गुन्जायस छ? त्यसैले उक्त नियुक्ति नै गैरसंवैधानिक छ।’

धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न गर्नुपर्ने उल्लेख गर्दै वैद्यले भने–‘वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री (केपी ओली) दलको नेता नै थिए, दलको नेता परिवर्तन नै नभई त्यहि ब्यक्ति फेरी कसरी ७६ (३) अनुसार नियुक्त हुन सक्नुहुन्छ ?’ राष्ट्रपतिले कुन प्रावधान अनुसार केपी ओलीलाई नियुक्त गर्नुभो भन्ने प्रश्न गरेका वरिष्ठ अधिवक्ता वैद्यले भने–‘त्यो नियुक्ति गैरसंवैधानिक हो ।’

विश्वासको मत गुमाएका प्रधानमन्त्रीको विश्वासको आधार राष्ट्रपतिले खोज्नुपर्ने उनले बताएका छन् । प्रतिनिधि विघटन मुद्दामा अहिले एमिकस क्युरीका चार जनाले आफ्नो धारणा राखिरहेका छन्। एमकिस क्युरीमा रहेका चार जनालाई दुई घन्टा समय छुट्याइएको छ।