May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

भारतको लज्जास्पद हार

न्युजिल्यान्ड भ्रमणमा रहेको भारतीय टिमले टेस्ट क्रिकेटमा लज्जास्पद हार बेहोरोको छ । विलिंघटनमा टेस्ट सिरिजको पहिलो खेलमा भारत घरेलु टोलीसँग १० विकेटको लज्जास्पद हार बेहोर्न बाध्य भयो ।

Advertisement

सन् २०१९ मा अपराजित रहेको भारत सन् २०२०को पहिलो खेलमै पराजित भयो । आईसिसी वल्र्ड टेस्ट च्याम्पियनसिपमा भारतको यो पहिलो हार हो । यसअघि भारतले टेस्ट च्याम्पियनसिपमा लगातार ७ खेल जितेको थियो । भारतलाई १० विकेटले हराउँदै न्युजिल्यान्डले भने टेस्ट क्रिकेटमा १ सयौं जित दर्ता ग¥यो ।

विलिंघटन टेस्टमा भारतले दुवै इनिङमा खराब ब्याटिङ ग¥यो भने बलिङ पनि चुस्त बनाउन सकेन । भारत पहिलो इनिङमा १६५ रनमा अलआउट भएको थियो भने दोस्रो इनिङमा पनि उसले १९० रन मात्र बनाउन सक्यो । भारतका लागि मयंक अग्रवाल र अजिन्का रहाणेले मात्र न्यजिल्यान्डको बलिङ आक्रमण निस्तेज बनाउने प्रयास गरेका थिए ।

पहिलो टेस्टमा भारतका लागि अर्धशतक बनाउने एकमात्र ब्याट्सम्यान रहे मयंक अग्रवाल । उनले दोस्रो इनिङमा ९९ बल खेल्दै ५८ रन बनाएका थिए भने पहिलो इनिङमा ३४ रन बनाए । यस्तै, रहाणेले पहिलो इनिङमा ४४ र दोस्रो इनिङमा २९ रन बनाए ।

दुवै इनिङमा भरपर्दा ब्याट्सम्यान कप्तान विराट कोहली र चेतेश्वर पुजार नचल्दा भारत दबाबमा आएको थियो । कोहलीले २ र १९ रन बनाउँदा पुजाराले दुवै इनिङमा समान ११ रन मात्र बनाए ।

भारतले बलिङमा पनि राम्रो गर्न सकेन । दुवै इनिङमा न्युजिल्यान्डको टप अर्डरले दबाब राखेपनि पुछारका ब्याट्सम्यान भारतीय बलरविरुद्ध खुलेर खेल्दै उल्लेख रन बनाए । भारतका इशान्त शर्माले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो इनिङमा ३४८ रन बनाएको थियो । उसका कप्तान केन विलियम्सनले सर्वाधिक ८४ रन बनाउँदा रोस टेलर र कायल जामिसनले समान ४४ रन बनाए । यस्तै, कोलिन डे ग्रान्ड होमले ४३ र ट्रेन्ट बोल्टले ३८ रनको योगदान दिए ।