कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

वुहान। चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्याले ६ सयको आँकडा पार गरेको छ । १७ जनाको मृत्यु भइसकेको छ । बिहीबारदेखि वुहान शहरबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । नागरिकलाई बिना कारण घरबाहिर निस्किन रोक लगाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रस एडहेनम ग्याब्रेइसुसले बुधबार यो समस्यालाई विश्वका लागि खतरा (ग्लोबल हेल्थ इमरजेन्सी) घोषित गर्ने विषयमा विचार भइरहेको बताएका छन् ।

Advertisement

यातायात बन्द गरिएको विषयमा डब्लुएचओ प्रमुखले यो कदमले चीनले आफ्नो देशमा भाइरसको प्रकोपलाई नियन्त्रित गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा फैलिने आशंकालाई पनि कम गर्ने बताएका छन् । चीनमा हजारौं नागरिक यो भाइरसको चपेटामा छन् । कोरोना भाइरसको पहिलो केस वुहान शहरमा ३१ डिसेम्बरमा पाइएको थियो ।

कोरोना भाइरस सार्स (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) जस्तै भएका कारण खतरनाक मानिएको छ । सार्स भाइरसले २००२–२००३ मा चीन र हङकङमा करिब ६५० जनाको ज्यान लिएको थियो । कोरोनालाई पनि सार्स भाइरसकै श्रेणीमा राखिएको छ । यसबाट बचाउको उपाय भइरहेका छन् तर अहिलेसम्म भाइरसको स्रोत पत्ता लाग्न सकेको छैन ।

चीनमा नयाँ वर्ष मनाउनका लागि यो हप्ता लाखौं नागरिक आवतजावत गर्नेछन् । यसलाई मध्यनजर गर्दै राष्ट्रिय स्वास्थ्य आयोगले विमानस्थल, बस स्टेशन र ट्रेनमा मानिसहरुको जाँच गरिरहेको छ । बेइजिङ, शंघाइ र चोंगकिङजस्ता ठूला शहरका साथै उत्तर पूर्व, मध्य र दक्षिण चीनमा पनि कोरोना भाइरसको संक्रमणका केस भेटिएका छन् । जापान, मकाउ, दक्षिण कोरिया, ताइवान, थाइल्याण्ड र अमेरिकामा पनि संक्रमणका केस भेटिएका छन् ।

अमेरिकाका ५ विमानस्थलमा थर्मल स्क्यानिङ भइरहेको छ । लण्डनबाट मस्कोसम्मका विमानस्थलमा पनि जाँच भइरहेको छ । डब्लुएचओले प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा यो भाइरस फैलिने पुष्टि गरेको छ । यो भाइरस जनावरबाट फैलिएको मानिएको छ तर यसको पुष्टि भएको छैन । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक गाओ फूले अवैध तरिकाले जंगली जनावरको खरिद बिक्री हुने ठाउँबाट यो भाइरस फैलिएको बताएका छन् ।

हङकङ र बेलायतका वैज्ञानिकहरुले वुहान शहरमा मात्र १३ सय देखि १७ सय संक्रमित भएको अनुमान गरेका छन् । स्वास्थ्यकर्मीहरुले नागरिकलाई नियमित रुपमा हात धुन, भीडभाड भएका ठाउँमा जानबाट बच्न, ताजा हावा लिन र खोकी लागेमा मास्क लगाउन आग्रह गरेका छन् । खोकी वा ज्वरो आएमा अस्पताल जान भनिएको छ । स्थानीय सरकारले महत्वपूर्ण सार्वजनिक गतिविधि रद्द गरेको छ । ३–९ फेब्रुअरीमा हुने महिला ओलम्पिक फुटबल छनोट प्रतियोगितालाई पूर्वी शहर नानजिंगमा स्थानान्तरण गरिएको छ ।अन्तै बाट