प्रभावित अर्थतन्त्र उकास्न कृषि नै उत्तम विकल्प: रामचन्द्र पौडेल

चैत्र २९, काठमाडौं । कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेता पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग गरेको छलफलमा नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण हाल न्यून भएकाले कृषि मात्र विकल्प भएको बताएका हुन् ।
नेता पौडेलले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गरी अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताउँदै कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरी कृषिमा विचौलियाको राज अन्त्य गर्न जरुरी भएको उल्लेख गरे । उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गरेका छन ।
पौडेलले किसानको उत्पादन नष्ट हुन नदिन र बजारको अभावलाई अन्त्य गर्न लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे । साथै नेता पौडेलले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

Advertisement