May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्किन मानेनन्

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् ।

Advertisement

नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् ।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन् । उनी ५२२४५ नम्बरको राहदानीवाहक हुन् ।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानुन छ ।

बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ ।

अवैध रूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत् सम्बन्धित देशको दूतावासमा बुझाउने कानुनी प्रक्रिया छ ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघि नै अमेरिकाले दूतावासमार्फत् आफ्ना नागरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो ।

जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन् ।

२०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन् २०२० मार्च १८ गते सकिएको थियो ।

त्यसपछि नेपाल बस्ने उनलाई कानुनी अनुमति छैन । होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताइन् ।

‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ’, उनले भनिन्, ‘कसरी पठाउने भन्ने अलमलमा परेका छौँ । गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ ।’

एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन् । खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन् । स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शंका गरेका छन् ।

कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैंले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताएका छन् । रासस