दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुलको पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।

Advertisement

आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो। निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने रउनीहरू कहीले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो। अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ। भूकम्पपछि सुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सनले लिएको छ। सुरुको समयदेखि १९ महिनामा सक्‍ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन्। ८५ करोड रुपैयाँको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ।

उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो। निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्‍न गरिएको बताए। ‘कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ’, उनले भने।

विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो। विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो। विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो। विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालनहुँदै आएको छ।

सुरुमा निर्माण गर्दा माटो, ईंटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो। दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ। सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्यामा भने कमी छ। पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ। पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहालबताउँछन्। भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए। हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन्। ती विद्यार्थीलाई अहिले वाल्मिकी विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ। लामो समय काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम सुरु भएको थियो ।