भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं: प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सोधेको सीमा मिचेको विषयमा भारतसँग के छलफल भइरहेको छ र नक्सा कहिले छाप्ने हो ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं भने नक्सा छाप्ने कुरा त के भयो र, एकछिनमै छापिहालिन्छ ।’

Advertisement

ओलीले संसदमा विशेष सम्बोधन गरेपछि सांसद बडूले दार्चुलास्थित कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले मिचेको विषयमा प्रश्न सोधेका थिए। उनले त्यो भूमि फिर्ता ल्याउनेबारे भारत सरकारसँग कहिले वार्ता हुन्छ र सीमा सुरक्षाका लागि सरकारले के गरिरहेको छ भन्ने लगायतका प्रश्न गरेका थिए।

जवाफमा ओलीले भारतसँग कूटनीतिक तयारी भइरहेको बताए। उनले भने, ‘नेपालको भूभाग नेपालले छोड्दैन। अहिले खासगरी उठेको प्रश्न कालीनदीको मुहानको बारेमा, लिम्पियाधुरा क्षेत्रको, लिपुलेक क्षेत्रको र कालापानीको बारेमा हुन्। तथ्य प्रमाणहरूले यी भूभाग नेपालका हुन् भनिरहेका छन्।’

नेपालले मात्रै वार्ता गर्छु भनेर नहुने ओलीको भनाइ थियो। ‘फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भनिने कुरा होइन। दुई तर्फी छलफल गरेर वार्ताको मिति तोकिनेछ,’ उनले भने। भारत सरकारसँग सीमाबारे सार्वभौम मुलुकका रूपमा वार्ता गर्ने उनको भनाइ थियो। ‘यो सरकार वार्तामा समानता, भौगोलिक अखण्डताका सवालमा कुनै अनुचित सम्झौता गर्दैन। त्यसमा स्पष्ट हुन आग्रह गर्दछु,’ उनले भने।

सीमा क्षेत्रमा सशस्न प्रहरी राख्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए। उनले भने, ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने काम भइरहेको छ। बीओपीको तयारी तीव्र भइरहेको छ।’