सप्तरीमा मुस्लिम धार्मिकसभा सुरु, महिला, बालबालिकाका प्रवेश निषेध

धार्मिकसभामा नेपाल र भारतका मुस्लिमलाई मात्रै बोलाउने जनाएको आयोजकले तेस्रो मुलुकबाट पनि बोलाएपछि गृह मन्त्रालयले सभा रोक्न बिहीबार सर्कुलर जारी गरेको थियो ।

Advertisement

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुनः सभा सञ्चालन गर्न गृहले अनुमति दिएको छ । गृहले तेस्रो मुलुकबाट आएकालाई फर्काउने शर्तमा अनुमति दिएको हो ।

सरकारको आदेश बमोजिम अन्य देशबाट आएकालाई फर्काइएको मुस्लिम आयोगका अध्यक्ष समीम अन्सारीले बताए ।

पाकिस्तान, बंगलादेश, साउदी अरब, कुवेत, थाइल्याण्डसहितका देशबाट समेत सहभागीलाई बोलाइएको थियो ।

धार्मिक प्रवचनमा सहभागी हुन भारतको राजधानी दिल्लीबाट हजरत मौलाना साद साहेब आएका छन् । उनी नै मुख्य प्रवचनकर्ता रहेको अन्सारीले बताए ।

साद साहेब जमात विश्वका अध्यक्ष समेत हुन् । उनीसँगै नेपाली जमातका अध्यक्ष निसारुद्दिनको पनि सहभागिता छ ।

सभास्थल आसपास सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचालन गरिएको छ । नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।

मुस्लिम समुदायले धार्मिकसभा आयोजना गरेको बोदे बर्साइन नगरपालिकाले यस क्षेत्रमा मदिरा बिक्री, वितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सभा हुने समय तीन दिन सम्मकै लागि बोदे बर्साइन बजार तथा आसपासका क्षेत्रमा मदिरा बिक्री, बितरण र प्रयोगमा रोक लगाएको हो ।