April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौँ। उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन। चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ।

Advertisement

सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो। ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्।

नेवार समुदायमा यःमरीको विशेष महत्व छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक हो। यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभई नहुने पकवान भएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए।

“नेवार समुदायमा नयाँ घर निर्माण गरी धुरी पूजा गर्दा, दुई वर्ष, चार वर्ष, छ वर्ष र १२ वर्षको जोडा जन्मदिन मनाउँदा जोडा यःमरी चढाउने, भीमारथारोहण, तान्त्रिक पूजा विधि र चह्रे पूजा, सांस्कृतिक गुठी भोजमा यःमरी राखेर भोज खाने प्रचलन छ।”

यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ। पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ। त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन रहेको धौभडेलले बताए।

उजले भने, “यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाउँदा अन्न वृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रहिआएको छ।” यसरी चढाएको यःमरी चार दिनपछि विवाहिता जेठी छोरी बोलाएर उसको हातबाट प्रसाद खाइसकेपछि यःमरी पुन्ही सकिन्छ।

यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ। तिहारमा देउसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ।

त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु यःमरी छग ति यः
व्यूम्ह ल्यासे मव्यूम्ह सितिकुती
न्यग व्यूसा काय् वुई छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
कुरी कुरी…

दुई माना देऊ, चार माना देऊ, यस वर्षको यःमरी एउटा देऊ, दिएमा तरुनी नदिएमा सितीकुती, दुईवटा दिए छोरा, एउटा दिए छोरी जन्मिन्छ, जसरी दिएनी चुली पारेर देऊ, यःमरी मिठो त्यसभित्र चाकु, दिए तरुनी, नदिए बूढी, कुरी कुरी…।

यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घरआँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका भने अचेल भक्तपुरमा गुन्जिन छाडेको छ। मौलिक लोकसंस्कृतिलाई आधुनिकताले छोपेसँगै यःमरी माग्ने चलन विस्तारै लोप हुन थालेपछि उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो।

यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद्को भनाइ छ। संस्कृतिविद् धौभडेलका अनुसार लिच्छवीकालीन समयदेखि नै यःमरी माग्ने प्रचलन चल्दै आएको हो। उनले अंशुबर्माको पालादेखि नै यो चलन चलेको वंशावलीमा उल्लेख भएको पाइएको जानकारी दिए। आधुनिकतासँगै स्थानीय कला, संस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन पनि लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ।