April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

नेपालमा पछिल्लो समय प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग–यो । विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकरणबारे भन्सार कार्यालय अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पठायो ।

Advertisement

सीआईबीको अनुसन्धानबाट ती उपकरण क्रिप्टोकरेन्सी कारोबारीको तथ्याङ्क सुरक्षित गर्ने उपकरण भएको पत्ता लाग्यो । सीआईबीले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार ती युवतीलाई मुद्दा चलाउन भन्सार कार्यालयलाई सिफारिस ग–यो तर उपकरणमा कुनै कारोबार नदेखिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि बढाएन ।

ब्युरोले यसअघि २०७७ चैत ५ गते क्रिप्टोकरेन्सी कारोबारमा संलग्न अर्का इन्जिनियर युवकलाई उपकरणसहित काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको थियो । अनुसन्धानबाट ती युवकले अवैध कारोबार गरेको खुले पनि मुद्दाको टुङ्गो अझै लागेको थिएन । त्यसअघि पनि २०७५ जेठ ६ गते उपकरणसहित पक्राउ परेका अर्का युवकले भने काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाए ।

ब्युरोले २०७४ असोज २० गते दोलखाको तामाकोसीबाट ‘बिटक्वाइन माइनर’ (बिटक्वाइनको अन्तर्राष्ट्रिय नेटवर्क सञ्चालन गर्ने उपकरण) २६ थान बरामद ग¥यो । त्यसमा संलग्न पाँचै जनाविरुद्ध ब्युरोले मुद्दा त चलायो तर काठमाडौँ जिल्ला अदालबाट ती युवा धरौटीमा रिहा भए ।

यी प्रतिनिधि घटना मात्र हुन् । यीबाहेक नेपालमा पछिल्लो समय प्रतिबन्धित क्रिप्टोकरेन्सीअन्तर्गतका बिटक्वाइन, डचक्वाइन, रिपल, इथेरियम लाइट क्वाइनलगायतका अवैध विद्युतीय मुद्राको कारोबार बढ्दै गएको अनुसन्धानबाट खुलेको छ ।

यसको अवैध कारोबारमा अवैध धन प्रयोग भएको पनि खुलेको छ । अनुसन्धानबाट कतिपय उच्च व्यापारिक घरानासमेत क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।