April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

बाजुरासहित सुदूरपहाडमा भुवाको रौनक

बाजुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने सांस्कृतिक पर्व भुवा सुरु भएको छ । महाभारतको कथा तथा पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयवासीले भस्सो पर्व पनि भन्ने गर्छन् । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

Advertisement

भुवा पर्व पुसेऔँसीका दिनबाट सुरु हुन्छ । जिल्लावासीले दसैँ तिहारपछि भुवा पर्वलाई नै विशेष महत्वको पर्वका रूपमा मनाउने गर्छन् । आफन्तसँगको भेटघाट, आपसी रमाइलो र सत्यको जीत तथा महाभारतको युद्धलाई केन्द्र भागमा राखेर भुवा अवधिभर रमाइलो गर्ने गरिन्छ । यो पर्व तीनदेखि पाँचदिनसम्म मनाइने गरिन्छ । जिल्लाका जुगाडा, मार्तडी, आटीचौर, बाह्विस, ब्रह्मतोला, कुल्देवमाडौँसहितका क्षेत्रमा भव्यरूपमा यो पर्व मनाउने गरिन्छ । ब्रह्मतोलामा यो वर्ष हरिनो जात्रा पनि परेको छ । पाण्डवले जीतपछि खुसीयालीस्वरूप उत्सव मनाउँदा गरेका झाँकीसहित लाखे नाचहरु प्रर्दशन गर्ने गरिन्छ ।

पौराणिककालमा पाण्डव र कौरवबीच भएको लडाइँको सम्झना स्वरूप युद्ध कलाका हतियार प्रयोग गरी भुवा पर्व खेल्ने परम्परा रहेको भुवा पर्वका जानकार बताउँछन् । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवा पर्वको अवधिभर पुरुष हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मियता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । लोक संस्कृतिको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवा पर्व सत्कर्मको प्राप्ति, आदर सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्व कालदेखि मनाइँदै आएको ज्योतिष गोविन्द्रराज शास्त्रीको भनाइ छ ।

भुवाको सुरुको दिनको राति राँके जुलुस निकालेर रातभर गीत मागल गाउने र दिनमा युद्धकला प्रदर्शन गर्ने प्रचलन रहेको छ । भूक्रियामा आ प्रत्यय लागेर निर्माण भएको भुवालाई भूको अर्थ पृथ्वी र आको अर्थ चारैतिर हुन्छ । जसलाई पृथ्वीको चारैतिरको रमाइलो वा खुसीयाली छाउने अर्थका रूपमा पनि विश्लेषण गरिएको छ । पुरुषहरुको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो सयममा महिलाले पनि हातमा तरबार र ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवा पर्वलाई रमाइलो र महिमाका आधारमा जिल्लावासीले दसैँतिहारभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् ।

यस अवधिभर मीठो मसिनो पकाएर खाने भगवान्, कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डव गौरव गाथा गाउने प्रचलन रहेको छ । होरिनुकमा पाण्डवले प्रयोग गरेका हुलिया जस्तै वस्तुको प्रर्दशनसँगै त्यो अवस्थामा साथ दिने जङ्गली जनावरका तस्बिर पनि लाखे नाचको माध्यमबाट मनाउने गरिन्छ । जिल्लाबासीको पहिचानसँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द हुने गरेका छन् । पञ्चेबाजाका साथ खेलिने भुवा पर्व बाजुरालगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङलगायत जिल्लामा पनि मनाउने प्रचलन रहेको छ ।